काठमाडौं – कोरोना भाइरस संक्रमणले अस्पतालमा बिरामीको चाप बढ्दैछ। संक्रमितको भर्ना दर बढिरहेका बेला उपचारमा खटिने स्वास्थ्यकर्मी नै थला परेका छन् । यसले सीमा नाकामा स्वास्थ्य जाँच नै प्रभावित छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा। दिनेश काफ्लेले जँचाउन आउने बिरामीसँगै स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुन थालेको बताए । उनले भने, ‘केही दिनयता व्यावहारिक रूपमा अप्ठ्यारो अवस्था झेल्नु परिरहेको छ।’


ADVERTISEMENT


अस्पतालका चिकित्सक, नर्सलगायत कम्तीमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण गरेका व्यक्तिहरूको संख्या दैनिक ५० नाघेको छ। संक्रमण भएका सबैजना एकै पटक भर्ना नभए पनि सीमित शड्ढयामा भर्ना हुने क्रम दैनिक बढेको छ।


ADVERTISEMENT

# # #


मुलुकका सातवटै प्रदेशको आईसीयूमा ६७ जना संक्रमितको उपचार भइरहेको छ। भेन्टिलेटरमा १६ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये स्वास्थ्यकर्मीको अवस्था भने सामान्य छ । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बमका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरू होम आइसोलेसनमा बसिरहेका छन् ।

‘अहिले संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरू आइसोलेसनमा छन्। स्वास्थ्य अवस्था जटिल भए भर्ना गर्नुपर्ने हुन्छ’, डा बमले भने, ‘आइतबारदेखि अन्य कोरोना संक्रमितहरूको भर्ना हुने क्रम बढेको छ। इमर्जेन्सीमा पनि बिरामीहरू भर्ना भइरहेका छन्। शड्ढया पुगेन भने सेवा विस्तार गर्ने योजना छ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले हालसम्म कोरोना संक्रमणबाट ८ जना चिकित्सकको ज्यान गएको बताए। ‘अहिलेसम्म कोरोना संक्रमणबाट सयौं स्वास्थ्यकर्मी निको भइसकेका छन्। पुनः संक्रमण हुने क्रम बढ्दो छ’, उनले भने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मुलुकभर संक्रमण दर वृद्धि भई १२ दशमलव ७ प्रतिशत पुगेको छ। सोमबार मुलुकभर १ हजार ४ सय ४६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं जिल्लामा ६ सय ७५ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ। अहिले मुलुकभर ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित छन्।

रुपन्देहीको बेलहिया नाकाको हेल्थ डेस्कमा खटिएका आठ जना कर्मचारीमध्ये चार जना संक्रमित छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार, देवदह नगरपालिकास्थित देवदह स्वास्थ्यचौकीका एक जना कर्मचारी पनि संक्रमित भएका छन्। कोभिडको लक्षण देखिएपछि एन्टिजेन विधिबाट नाकामा खटिएका कर्मचारीहरूको कोरोना परीक्षण गरिएको थियो। नाकामा तीन दिनको अन्तरालमा चार जना कर्मचारीमा संक्रमण देखिएको हो।

चार जनामध्ये तीन जना हेल्थ डेस्कको ल्याबका कर्मचारी हुन् । अन्य एक जना नेपाल रेडक्रस सोसाइटीकी स्वंयसेविका हुन्। भारतबाट आउने व्यक्तिहरूसँग सोधपुछ र परीक्षणको क्रममा स्वास्थ्यकर्मीहरू संक्रमित भएका हुन्। हुलका हुल नाकाबाट भित्रिँदा संक्रमणको रोकथामका लागि नाकामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सामान्य मास्कको भरमा खटिएका छन्।

सिन्धुली जिल्लामा एक चिकित्सकमा कोरोना संक्रमणको आशंका गरिएको छ। सिन्धुली अस्पतालका प्रमुख डा उमेश प्रधानले भने, ‘जिल्लामा हिजो मात्र एक जना डाक्टरमा कोभिडसँग मिल्दोजुल्दो लक्षणसहितको समस्या देखिए पनि पुष्टि भइसकेको छैन।’

कोरोना पहिलो र दोस्रो लहरमा बागमती प्रदेशमा दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । उक्त अवधिमा डेढसय बढी स्वास्थ्यकर्मी प्रभावित भएका थिए। कोरोना संक्रमणपछि सिन्धुलीका दुई स्वास्थ्यचौकी नै बन्द गर्नुपरेको थियो। जिल्लामा सिन्धुली अस्पताल मातहतमै ५१ बेडको आइसोलेसन अस्पतालसमेत सञ्चालनमा छ। संक्रमित स्वास्थ्यकर्मीहरूलाई अस्पतालमै उपचार, खान र बस्ने सुविधा दिइएको थियो। हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाका अनुसार कोभिडको पहिलो र दोस्रो लहरमा गरी करिब ९० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो।

बाँकेको सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कमा कार्यरत ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भारतबाट आउनेहरूलाई एन्टिजेनबाट कोरोना परीक्षण गर्ने कार्यमा खटिएका स्वास्थ्य आइतबार एक जना र सोमबार २ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा दुई जना अहेव र एक जना ल्याब टेक्निसियन रहेको ओलीले जानकारी दिए। सोमबार जमुनाहा नाकामा दुई जना स्वास्थ्यकर्मीसहित भारतबाट आएका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ। जिल्लाका तीनवटा प्रयोगशालामा स्वाब परीक्षण गर्दा १५ जनालाई कोरोना पुष्टि भएको छ। वीरगन्जमा पछिल्लो सातादेखि दैनिक सरदर १० जनामा संक्रमण भेटिइरहेको भए पनि अग्रपंक्तिमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीमा अहिलेसम्म संक्रमण देखिएको छैन। वीरगन्ज नाकाको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि १२ जना स्वास्थ्यकर्मी खटिएका छन्। यस्तै नारायणी अस्पतालमा पनि स्वास्थ्यकर्मीले कोरोनाको परीक्षण र संक्रमितहरूको उपचार गर्दै आएका छन्।

तर, दोस्रो लहरयता वीरगन्जमा कोही पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ७० जना संक्रमित भएका छन्। पुस १९ गतेयताको ७ दिनमा संक्रमणबाट कसैको मृत्यु भएको छैन। तर, यो एक सातामा सबैभन्दा धेरै संक्रमित पछिल्लो २४ घन्टामा देखिएका छन्। संक्रमितमा कास्की स्वास्थ्य कार्यालयका एक जना कर्मचारी पनि छन् । प्रदेश स्वास्थ्य निर्देशक डा खिमबहादुर खड्काका अनुसार ३ दिनअघि कास्कीका एक जना स्वास्थ्य क्षेत्रका कर्मचारी संक्रमित भएका हुन् । उनका अनुसार ती कर्मचारीको ज्वरो भने घट्दै गएको छ। उनी घरमै आइसोलेसनमा छन् । कहाँबाट र कसरी उनलाई संक्रमण भयो भन्ने चाहिँ खुलेको छैन।

खड्काले गण्डकीको अरू जिल्लाका स्वास्थ्यकर्मी कोही संक्रमित भएको अहिलेसम्म आफूलाई जानकारी नभएको पनि सुनाए।  अन्नपूर्ण पोष्टबाट ।