बलेवा– जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो ।


ADVERTISEMENT


बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन-फिबरलगायतका खोप लगाइने पशु स्वास्थ्य अधिकृत केशव शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यी रोगका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएका छन् । हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गर्न लागिएको हो । तीन पालिकामा फरक फरक समयमा खोप अभियान सञ्चालन हुने शर्माले बताए । ‘बागलुङ नगरपालिकामा अभियान सञ्चालनका लागि पहिलो चरणमा गोष्ठी सम्पन्न भएको छ’, शर्माले भने, ‘माघ महिनाभरिमा नगरभरिका पशुचौपायालाई खोप लगाइसक्ने गरी योजना बनेको छ । हरेक वर्ष पशुलाई लगाउनुपर्ने खोप नपाएका कारण रोगबाट पशुचौपाया प्रभावित हुने गरेका छन् ।

बङ्गुर, बाख्रा र भैँसीमा देखिने रोगले किसान आजित छन् । सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ । यो अभियान बागलुङमा पहिलोपटक सुरुआत भएको हो । अभियानअन्र्तगत ४० हजार ठूला पशु र २५ हजार साना पशुलाई खोप लगाउने लक्ष्य केन्द्रको छ । रासस