काठमाडौँँ– जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवयर इन्जिनियरिङ्ग अध्ययनका लागि विद्यार्थीहरुलाई छात्रवृत्तिको अफर ल्याएको छ ।


ADVERTISEMENT


सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर (Masters in software Engineering) अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


यो सूचना प्रथमपटक प्रकाशित भएको मिति पुस २८, २०७८ देखि एक (१) महिनाभित्र इच्छुक व्यक्तिहरूबाट आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तपसिलमा उल्लेखित ठेगाना वा इमेल मार्फत दरखास्त गरिसक्नुपर्ने फाउन्डेसनको भनाई छ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले पनि आवेदन दिन सक्नेछन् ।

फाउन्डेसनका अनुसार, सो छात्रवृत्ति कुनै दुई विद्यार्थीलाई उपलब्ध गराइनेछ । जसअन्तर्गत विद्यार्थीलाई प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरको छात्रवृत्ति रकम प्रदान गरिनेछ भने, विद्यार्थीलाई कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर समेत प्रदान गरिनेछ । तर, अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आबद्व हुनुपर्ने नियम रहेको फाउन्डेसनले जनाएको छ ।

यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहन्छ । रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिने र छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने आईएमई फाउन्डेसनको भनाई छ ।

यस्तै, पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने बताउँदै छात्रवृत्तिसँग सम्बन्धित संघ/संस्थाहरूबाट कम्तीमा एक/एक जनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार सोहि समितिमा निहित हुने कम्पनीले जनाएको छ ।