बानियानी– नेकपा (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले जनताको घरदैलोमा पुग्न तीनवटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


नगर कमिटीले माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी पोषण कार्यक्रम, कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पार्टीले विगतमा उठाएका समाजवादलगायत एजेण्डा जनतामाझ पुर्‍याउन अभियान सञ्चालन गर्न लागेको बताए ।


ADVERTISEMENT

# # #


सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ । यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर १०० रुपैँया सहयोग गरिने अध्यक्ष चिमरियाको भनाई छ । नगर कमिटीले स्वास्थ्य बिमा कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी वैशाखभित्र थप ६० परिवारलाई बिमा कार्यक्रममा जोडिने भएको छ ।

‘मेचीनगरभित्रका गरिब परिवारको पहिचान गरेर निःशुल्क स्वास्थ्य बिमा गरिदिन्छौँ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा अभियानमा सहयोग पुग्नुका साथै विपन्न परिवारलाई समेत यसले राहत मिल्नेछ’, उनले भने । माओवादी केन्द्र नगर कमिटीले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ ।

पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो । त्यसका लागि पाँच बिघा जमिन भाडामा लिएर सामूहिक कृषिखेती गरिने भएको छ । रासस