काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक प्रकरणको छानविनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले निजामती विधेयकमा कुलिङ पिरियडका विषयमा भएको छेडखानीको छानविनका लागि सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । समितिको सचिवालय, संघीय मामिला मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय भएको उनले बताए । सभापति खतिवडाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्नो नाम जोडिएको विषयमा आपत्ति जनाए । उनले छानविनका क्रममा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए ।

बैठकमा समिति सदस्यहरुले कुलिङ पिरियड प्रकरणमा समिति सभापतिले नैतिक रुपमा मार्गप्रशस्त गर्नुपर्ने भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

सांसद पदम गिरीले गम्भीर प्रकारको घटना घटेको भन्दै फरक प्रतिवेदनमा सभापति र समिति सचिवको हस्ताक्षर भएकाले जिम्मेवारी लिनुपर्ने बताए । यस विषयमा छानविनका लागि सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनले बताए ।

त्यस्तै सांसद ह्दयराम थामीले ठूला व्यक्तिको प्रभाव र दवावले निजामती विधेयकमाथि छेडखानी गरिएको बताए । यस विषयमा छानविन समिति नबनेसम्म समितिको बैठक बस्न नसक्ने उनले बताए । त्यस्तै माओवादी सांसद हितराज पाण्डेले कुलिङ पिरियडका बिषयमा समिति सभापतिदेखि सवैमाथि छानविन हुनुपर्ने बताए ।

बैठकमा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भने छलफलबाटै मूल बिधेयकमा रहेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन बनाएको धारणा राखेका थिए । कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा प्रयाप्त छलफल हुन नपाएको बताए । उनले भाषिक हिसावले केहि त्रुटि भएको उल्लेख गरे ।

त्यस्तै समितिका सचिव सुरजकुमार दुराले प्रयाप्त छलफलबाटै प्रतिवेदनमा उल्लेख विषयलाई समावेश गरिएको दाबी गरे । समितिमा भएको छलफलको पूर्ण प्रमाण आफूसंग रहेको उनले दाबी गरे ।

दुराले छलफलपछि नै विधेयकलाई अघि बढाइएको धारणा राखेपछि सांसदहरुले आपत्ति जनाएका थिए । सचिव दुराले समितिको अन्तिम प्रतिवेदन आफुले समिति सभापति र सामान्य प्रशासन मन्त्रीलाई समेत पठाएको जिकिर गरेका थिए । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसंग समेत छलफल हुने समितिले जनाएको छ ।