काठमाडौं – फुटबल, क्रिकेट, भलिबल, फुटसलपछि घरेलु खेलकुदमा बास्केटबलको पनि राष्ट्रिय लिग (एनबिएल ) प्रतियोगिता हुने भएको छ । युवामाझ निकै लोकप्रिय यो खेललाई व्यावसायिक बनाउने उद्देश्यले एनबिएल लिग आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT


विद्यालय तथा प्लस टु तहमा सर्वाधिक रुचाइने खेल बास्केटबलको फ्रेन्चाइज लिगमा आठ क्लबले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले निकट भविष्यमा हुने एनबिएल लिगमा विभिन्न आठ सहरको प्रतिनिधित्व हुने बताए । ‘आठ सहरबाट टोलीहरूको सहभागिता रहनेछ,’ उनले भने ।


ADVERTISEMENT

# # #


सहभागी आठ क्लबलाई टर्नपाइक इभेन्टले लाइसेन्स दिनेछ । कोरोना संक्रमणको जोखिम बढिरहेका लिग आयोजनाको मिति भने पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिग खेल्ने क्लबलाई काठमाडौं, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल वा धनगढीका सहरलाई प्रतिनिधत्व गर्ने गरी विभाजन गरिएको संघका कार्यबहक अध्यक्ष गुरुङले बताए ।

लिग टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा हुनेछ । पत्रकार सम्मेलनमा संघ र टर्नपाइकबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । टर्नपाइकले यसअघि फुटसल लिग आयोजना गरेको थियो । युवामाझ निकै लोकप्रिय यो खेललाई व्यावसायिक बनाउने उद्देश्यका साथ एनबिए लिग आयोजना गर्न लागेको टर्नपाइकका कार्यकारी निर्देशक उकेश लोहनीले जानकारी दिएका छन् ।

‘छोटो समयमै नेपाली युवामाझ बास्केटबल लोकप्रिय भएको खेल हो, यसलाई व्यवस्थित र व्यावसायिक बनाउन लिग आयोजना गर्न लागेको हौँ,’ उकेशले भने, ‘यो प्रारम्भिक चरण हो, बिस्तारै लिगको बारेमा खाका बन्नेछ ।’ संघ तथा टर्नपाइकबीच सम्झौता भए पनि कति रकम तथा खेलाडीहरूले पाउने अनुबन्धित रकमबारे जानकारी गराइएको छैन ।

‘हामीले विभिन्न पक्षसँग कुराकानी गरिरहेका छौँ, मार्की खेलाडी, प्रशिक्षक तथा खेलाडीहरूको अनुबन्धित रकम निर्धारण गरेका छौँ, यो अहिले नै यति भन्ने अवस्था छैन,’ उनले भने, ‘हामीले राखेको रकमभन्दा बढीमा पनि क्लबहरूले खेलाडीलाई किन्न सक्छन् ।’ लिगमा सहभागी हरेक क्लबमा १० जना नेपाली खेलाडी हुनेछन् । दरशथ रंगशालामा हुने लिगमा सहभागी क्लबले कम्तीमा दुईजना अन्तर्राष्ट्रिय खेलाडीसमेत राख्न पाउनेछन् ।

एक क्लबमा मुख्य प्रशिक्षक, मार्की खेलाडी, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर हुनेछन् । प्रतियोगिताको सबै जिम्मेवारी टर्नपाइक इभेन्टमा सीमित रहनेछ । लिगमा सहभागी क्लबसँग लिइने लाइसेन्स रकमको ४० प्रतिशत टर्नपाइकले नेपाल बास्केटबल संघलाई बुझाउनेछ ।

खेलाडीको वर्गीकरण
संघले लिगमा सहभागी हुने खेलाडीहरूलाई पहिलोपटक वर्गीकरणमा ल्याएको छ । सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी महिला तथा पुरुष खेलाडी ‘क’ समूहमा रहनेछन् । त्यसपछि विभिन्न जिल्लाका खेलाडीलाई ‘ख’ वर्गमा राखिने संघका कार्यबाहक अध्यक्ष गुरुङले बताए । ‘लिगलाई व्यवस्थित बनाउन र खेलाडीहरूको भ्यालु बढाउन वर्गीकरणको पनि व्यवस्था गरेका छौँ,’ गुरुङले भने, ‘काठमाडौंमा सन् २०१९ सम्पन्न सागमा सहभागी २४ जना खेलाडी ‘क’ वर्ग र त्यसपछि ‘ख’ वर्गका हुनेछन् ।’

निरन्तरताको आशा
बास्केटबलको पनि लिग हुने भएपछि राष्ट्रिय पुरुष तथा महिला बास्केटबल टोलीका खेलाडी उत्साहित छन् । एनबिएल लिगले नेपालमा बास्केटबलको विकास हुनेमा उनीहरू आशावादी छन् । नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले लिगको निरन्तरताको अपेक्षा गरेकी छिन् । ‘यो लिगले पक्कै पनि हामीजस्ता खेलाडीहरूलाई व्यावसायिक बनाउनेछ,’ श्रेष्ठले भनिन्, ‘लिग छिटोभन्दा छिटो सुरु हुने अपेक्षा छ ।’

पुरुष टोलीका उपकप्तान विनोद महर्जनले बास्केटबल लिग लामो समयदेखि प्रतीक्षा गरेको बताए । ‘बंगलादेशमा हालै लिग खेल्न गएको थिएँ त्यहाँ रहँदा नेपालमा पनि यस्तै किसिमको बास्केटबल लिग भएको सपना देखेको थिएँ,’ महर्जनले भने, ‘बंगलादेशमा देखेको सपना पूरा हुन गइरहेको छ ।’ एनबिए लिगले खेलाडीहरूलाई आर्थिक रूपमा समेत सबल बनाउने उनले विश्वास लिएका छन् । ‘कम्तीमा बास्केटबलको लिगले हामी खेलाडीहरूको आर्थिक पक्ष बलियो हुने विश्वास छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट ।