काठमाडौं – एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले  महासचिव डा. सुनिल शर्मामाथि दिनदहाडै सिंहदरबारको शिक्षा मन्त्रालयको प्राङ्गणमा भएको घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले  उक्त घटनाको भर्त्सना गरेको हो ।


ADVERTISEMENT


यस्तो छ संस्ठाको प्रेस वक्तव्य  


ADVERTISEMENT

# # #


आदरणीय सञ्चारकर्मी मित्रहरु, विगत लामो समयदेखि मुलुकमा गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रहरुमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको कुरा जगजाहेर भएपनि निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरु यतिबेला गम्भिर संकटतर्फ उन्मुख भएका छन् । निजी क्षेत्रबाट अरबौं लगानी गरेर देशका विभिन्न भू–भागका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुका साथै हज्जारौं दक्ष मेडिकल जनशक्ति उत्पादन गर्दै आइरहेको यस क्षेत्रलाई राज्यले सधैं अपहेलनाको दृष्टिकोणले व्यवहार गरिरहेको प्रष्ट छ ।

पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिहरु तथा विभिन्न राजनीतिक शक्ति केन्द्रहरुको संरक्षणबाट परिचालित व्यक्तिहरुबाट अनेक आरोप लगाउने, धम्क्याउने, तर्साउने, मेडिकल कलेजहरु तोडफोड गरी निजी क्षेत्रको सम्पत्तिमाथि समेत क्षती पुर्याउने कार्य भइरहेको छ ।

यसैसन्दर्भमा, मिति २०७८ पौष ३० गते सिंहदरबार स्थित शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मा सहितको टोलीलाई मेडिकल शिक्षामा देखिएका समस्या समाधान गर्न बोलाएको बैठक पश्चात शिक्षा मन्त्रालयबाट बाहिर निस्कने क्रममा मन्त्रालयकै भुई तल्लामा महासचिव डा. सुनिल शर्मामाथि केही अराजक, उच्छृंखल समुहले आक्रमण गर्ने दुष्प्रयास गरेकोमा एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपाल गम्भिर ध्यानाकर्षण भएको छ ।

कुनैपनि समस्या समाधान वार्ता र छलफलबाट हुनुपर्दछ भन्ने आदर्शलाई आत्मसाथ गर्दै पछिल्लो समय मेडिकल शिक्षामा विद्यार्थी र अभिभावकविच देखिएको विवादलाई समाधान गर्ने हेतूले राज्यको नियामक निकायलाई ध्यानाकर्षण गराउँदै समूचित निकास खोज्ने क्रममा विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समुहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ । मेडिकल क्षेत्रबाट मुलुककै सबैभन्दा बढी राजस्व तिरेर सम्मानीत भएको, हज्जारौं विद्यार्थीलाई गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको एउटा सम्मानीत व्यक्तिलाई मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कत्तिपनि चिन्तित र संवेदनशील रहेनछ भन्ने समेत पुष्टि भएको छ ।

राज्य निजी क्षेत्र मैत्री छैन भन्ने कुरा मेडिकल कलेज सञ्चालकहरुमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको कुरा हो । नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुलाई धरासायी बनाएर वर्षेनी हज्जारौं नेपाली विद्यार्थीहरुलाई अरबौं रुपैया बोकेर विदेशीभूमीमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ । पर्दा पछाडी रहेर अमुक विदेशी शक्ति र तिनका एजेण्टहरुको इशारामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई तहसनहस बनाउने सड्यन्त्र स्वयं राज्यका नियामक निकाय तथा मेडिकल शिक्षा सुधारको नाममा अमूक विदेशी एजेण्टको भरिया बनेर कुर्लनेहरुले गरेका छन् । जब राज्य नै एजेण्टहरुको संरक्षक बन्छ भने त्यहाँ कुनैपनि व्यक्ति, व्यवसायी सुरक्षित रहन सक्दैनन् । विश्वका ठूल्ठूला देशहरु विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट संभव भएको हो । तर, यहाँ त सरकारी संस्थाहरुलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अरबौं ऋण लिएर सञ्चालित संस्थाहरुलाई समेत सिध्याउने कार्य भइरहेको छ ।

विगत एक दशकयता निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरुमाथि विभिन्न तवरबाट आक्रमण हुने, भौतिक कारवाहीको धम्की दिने, गाली बेइज्यती गर्ने क्रम भइरहेकोमा निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरुमा क्षती पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरुमाथि भएका आक्रमणहरुको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ । निजी क्षेत्रले सम्मानीत रुपमा व्यवसाय गर्न÷गराउन पाउनु नैसर्गिक अधिकार हो । हामीले शान्तिपूर्ण रुपमा पटक–पटक राज्यका अंगहरुसँग श्रृंखलाबद्ध रुपमा मेडिकल कलेज व्यवसायीहरुमाथि भइरहेको आक्रमण रोक्न आग्रह अनुरोध गरेपनि कुनै संवोधन नगरेको ठहर गरेका छौं । निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प देखिएन । तसर्थ, कोरोना भाइरसको तेश्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिती सृजना नहोस् ।

अन्त्यमा, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मामाथि दिनदहाडै सिंहदरबारको शिक्षा मन्त्रालयको प्राङ्गणमा भएको घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।
म. बसरुद्धिन अन्सारी अध्यक्ष
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपाल