काठमाडौँ– कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्ने क्रम जारी रहेपछि काठमाडौँ उपत्यकामा आजदेखि कडाई गर्न थालिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले संक्रमण जोखिम न्युनिकरणको लागि कडाई गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


जसअनुरुप बैठकले स्वास्थ्य मापदण्डलाई थप कडाई गर्दै आजदेखि उपत्यकामा चल्ने सवारी यातायात तथा साधनमा जोर र बिजोर प्रणाली लागुसंगै सार्वजनिक स्थल हिडडुल गर्न तथा सेवा लिनका लागि खोप अनिवार्य गरेको छ ।


ADVERTISEMENT

# # #


कोरोनाको जोखिम कम नभएसम्मका लागि सो नियम लागू हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । जोरबिजोरले मानिसको आवागमन जतिसक्दो कम हुने र खोप कार्ड अनिवार्य भएपछि खोप नलगाएकाले पनि खोप लगाउने भएकाले यसले कोरोना रोकथाममा सहयोग पुग्न उनको भनाई छ । यस्तै, डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन समेत बैठकको निर्देशन छ ।

नेपालमा कोरोना संक्रमितको संख्यमा प्रतिदिन उकालो लाग्दै गएको छ । अझै एक महिना यो क्रम जारी रहने विज्ञहरुले प्रक्षेपण समेत गरेका छन् । बिहिवार मात्रै नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने, यो संख्या कोरोना लहरको शुरुआतीदेखि अहिलेसम्मकै उच्च संक्रमण दर हो । यस्तै, सोहि दिन संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ रहेको छ ।