लमजुङ – जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।


ADVERTISEMENT


हिउ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ । हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनले भने, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वैशाख लागेपछि मात्र उत्पादन बढ्ने देखिन्छ ।”


ADVERTISEMENT

# # #


बेँसीशहर नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।

जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ । पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दीलगायत आयोजनामा बिजुली उत्पादन कम हुदै गएको छ ।

मस्र्याङ्दी गाउँपालिका–६ र ७ स्थित ५० मेवागाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा भने गत असारमा गएको बाढी पहिराले बाँधस्थलमा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द छ । आयोजनाका दुईवटै टर्वाइन फेर्ने, अन्य संरचना निर्माणलगायत कार्य जारी रहेको आयोजनाले जनाएको छ । रासस