काठमाण्डौं-निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा खटिने केन्द्रीय अनुगमन टोलीलाई आज प्रशिक्षण दिदैछ ।


ADVERTISEMENT


निर्वाचन कार्यबिधि तथा आचारसंहिता लगायतका बिषयमा आयोगले अनुगमन टोलीलाई प्रशिक्षण दिने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिए । दोस्रो चरणको निर्वाचनमा सहसचिवस्तरका ७५ अनुगमन कर्ता खटिने उनले बताए ।


ADVERTISEMENT

# # #


दिउँसो साढे १ बजे आयोग मुख्यालयमा हुने प्रशिक्षणमा, अनुगमनका क्रममा भेटिने उजुरी किनारा लगाउने प्रक्रिया, आचारसंहिता, तथा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन टोलीले खेल्ने भुमिका लगायतका बिषयमा आयोगले जानकारी गराउने छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा भने केन्द्रीय अनुगमन टोली परिचालन भईसकेको आयोगले जनाएको छ । पहिलो चरणमा केन्द्रीय अनुगमनका लागि ३७ जना खटिएका छन् । यसैबीच मत हाल्ने तरिका तथा निर्वाचनका क्रममा आई पर्ने बिवाद अन्त्य गर्ने बिषयमा आयोगले आज ६ वटा प्रदेशमा दलका प्रतिनिधिसंग छलफल गर्दैछ ।

३ नम्बर प्रदेशमा यसअघि नै छलफल गरेको आयोगले बाँकीमा आज छलफल गर्न लागेको हो । निर्वाचनका क्रममा आईपर्ने विवाद तत्काल समाधान होस् भन्ने उद्देश्यले आयोगले सो छलफल आयोजना गरेको हो ।

त्यस्तै मतदाता शिक्षामा दलका कार्यकर्ताबाट सहयोग पुग्ने हेतुले दलका प्रतिनिधिलाई सो बारे जानकारी गराउन लागिएको आयोगले जनाएको छ । प्रदेश र प्रतिनिधि सभा अन्तर्गत पहिलो चरणको निर्वाचन आगामी आईतबार हुँदैछ । दोस्रो चरणको निर्वाचन आउन अब १६ दिन बाँकी छ ।