एजेन्सी – क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ ।


ADVERTISEMENT


अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् । अहिले कोरोनाभाइरसको महाव्याधि चलिरहेको बेलामा पनि क्युबाली चिकित्सकहरू मानिसको घरघरमा गएर स्वास्थ्य परीक्षण तथा सचेतना अभियान गरिरहेका छन् । त्यहाँ अहिलेसम्म १५ जनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ ।

क्युबाको स्वास्थ्य सेवा प्रणाली र अन्य देशको प्रणालीमा भएको भिन्नताको कुरा गर्दा क्युबामा स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकार मानिन्छ र त्यहाँको संविधानमै त्यसको प्रत्याभूति गरिएको छ । उता अमेरिकामा चाहिँ बिरामीलाई ग्राहकको जस्तो व्यवहार गरिन्छ र त्यहाँको स्वास्थ्य सेवा अत्यन्तै महंगो छ ।

क्युबाको क्रान्तिकारी समाजवादी विचारधाराले सरकारलाई नै राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिभारा सुम्पेको छ । क्युबाली चिकित्सकहरू रोग शुरू हुनुभन्दा अगावै रोकथामका औषधि दिन थाल्छन् । अनि रोग लागेमा उनीहरू त्यसलाई बल्झिन नदिनका लागि प्रयास गर्छन् । नागरिकहरूले चिकित्सक भेट्दा लाग्ने खर्चको चिन्ता पनि गर्नुपर्दैन किनकि उपचार निःशुल्क गरिन्छ ।

क्युबामा प्रत्येक १५० नागरिकका लागि एक चिकित्सक उपलब्ध छन् जुन विकसित मुलुकहरूको भन्दा निकै बढीको अनुपात हो । तर यस अनुपातका कारण चिकित्सकहरूको तलब थोरै हुने गरेको भनी आलोचकहरू टिप्पणी गर्छन् ।

मानवीय मिसन अन्तर्गत विदेशमा गएर काम गरेमा चिकित्सकहरूले बढी तलब पाउने सम्भावना हुन्छ । त्यसैले क्युबाले सन् १९६३ देखि यस्ता मिसनमा चिकित्सकहरूलाई पठाउने गरेको छ । अलि पुरानो आँकडा हेर्दा सन् २०१५ मा ३७ हजार क्युबाली चिकित्सकहरू संसारभरिका ७७ देशमा काम गरिरहेका थिए ।

व्यापारमा अमेरिकी प्रतिबन्ध भोगिरहेको क्युबामा चिकित्सकहरूले भित्र्याउने विदेशी मुद्राले क्युबाली सरकारलाई निकै राहत दिने गरेको छ । त्यसैले पनि होला शायद क्युबाले गुणस्तरीय चिकित्सक उत्पादनलाई निकै जोड दिने गरेको छ ।