काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ’, आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ ।’


ADVERTISEMENT


जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको प्रचण्डको भनाइ छ । २७ औं जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।


ADVERTISEMENT

# # #


उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरु, घाइते योद्धाहरु र उनीहरुका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न पनि गरेका छन् । प्रचण्डले संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत नरहेको बताएका छन् ।

तर, देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको बताउँदै उनले भनेका छन्, ‘२७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु ।’