डा. वासुदेव कार्की : वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक, मानसिक अस्पताल, लगनखेल ।


ADVERTISEMENT


भावनात्मक पक्षका विभिन्न आयामहरुमध्ये प्रेमलाई एक सकरात्मक र सुन्दर आयामको रुपमा लिइन्छ। कुनै पनि वस्तु वा व्यक्तिप्रतिको लगावको रुपमा  पनि बुझ्न सकिने प्रेमले व्यक्तिमा सकरात्मक ऊर्जा समेत प्रवाह गर्दछ।


ADVERTISEMENT

# # #


अर्थात् प्रेम भनेको शरीरको विभिन्न रासायनिक केमिकलहरुको प्रतिक्रियाका कारण स्वतः उत्पन्न हुने भावना पनि हो। प्रेमको दौरान मस्तिष्कमा ‘डोपामिन’तथा ‘नरइपिनेफ्रिन’लगायतका रसायनहरुको वृद्धिका कारण व्यक्तिमा उत्साह, ऊर्जा एवम् खुसीको सञ्चार हुन्छ। यहाँसम्म की यसले व्यक्तिमा भोक तथा निन्द्राको महशुसलाई समेत कम गराउँछ।

व्यक्तिको निजी स्वार्थ एवम् खुसीका लागि मात्रै नभई संसारको निरन्तरता र अस्तित्वका लागि आवश्यक मानिने प्रेमलाई मानव विकासक्रमको पछिल्लो समयमा विभिन्न सामाजिक नीति नियम, मापदण्ड एवम् खुसी र लाभहानीको आधारमा परिभाषित गर्ने गरेको पाइन्छ। जसकारण पनि प्रेमको परिभाषा र यसलाई हेर्ने दृष्टिकोण दिनानुदिन संकुचित हुदैँ गएको देखिन्छ। परिणामस्वरुपः हालको अवस्थामा यसलाई अधिकांशले विपरित लिङ्गीप्रति हुने आकर्षण वा प्रेम भनेर मात्रै पनि बुझ्ने गरेको पाइन्छ।

तर, प्रेम  विपरित लिङ्गीप्रति मात्रै सिमित नभएर वृहत् रुपमा भौतिक, अभौतिक, निर्जिव, सजिव, प्रकृति, पर्यावरण  लगायतका हरेक वस्तुप्रति स्वतः उत्पन्न हुने एक किसिमको सास्वत भावनात्मक लगाव पनि हो। र, व्यक्तिमा यसरी उत्पन्न हुने प्रेम कुनैपनि स्वार्थको दृष्टिकोणले नभई आत्मीयता र हार्दिकताका साथ  संचारित हुनु पर्ने हो ।

आफ्ना भावनाको महशुस व्यक्त गर्न नसक्नु एलेक्सिथिमियाको संकेत

व्यक्तिअनुसार उसले गर्ने प्रेमको शैली पनि भिन्न–भिन्न रहन्छ। यो व्यक्तिको स्वभाव तथा प्रकृतिमा समेत भरपर्ने कुरा हो। यद्यपि कतिपय अवस्थामा भने केहि व्यक्तिलाई आफ्नो भावनाप्रति कुनै पनि ज्ञात रहदैन भने कतिपय भावना भएर पनि त्यसलाई अभिव्यक्ति गर्न सक्दैनन्। जसलाई एलेक्सिथाईमियाको अवस्था भन्ने गरिन्छ।

एलेक्सिथाईमिया एक किसिमको सब–क्लिनिकल अवस्था हो। जसमा व्यक्तिलाई भावनात्मक जागरुकताको कमी अथवा विशेषगरी भावनाहरु पहिचान गर्न, वर्णन गर्न तथा भावनात्मक उत्तेजना शारीरिक संवेदनाबाट पत्ता लगाउन कठिनाई पर्दछ।

अर्थात्, सरल रुपमा बुझ्ने हो भने कुनैपनि व्यक्तिले खुसी तथा आफ्ना भावनाको महशुस वा व्यक्त गर्न नसक्ने अवस्थालाई मनोवैज्ञानिक दृष्टिकोणमा  एलेक्सिथाईमियाभनिन्छ।

मानसिक स्वास्थ्य र समस्याको औपचारिक वर्गीकरणमा स्थापित अवस्था नभए तापनि मनोवैज्ञानिक व्याख्यामा एलेक्सिथाईमियालाई पनि  समावेश गरिएको छ। यस्तो अवस्था मानसिक स्वास्थ्यका विभिन्न समस्याहरुसंग जोडिएर आउने गर्दछन । उदाहरणका लागि मस्तिष्कको विकास सम्बन्धी, व्यक्तित्व विकाससम्बन्धी, भावनात्मक तथा मस्तिष्कको क्षयीकरणसंग सम्बन्धित समस्याहरुमा देखिने गर्दछ ।

यसका कारणहरु

आणुवंशिक

यस्ता समस्या देखिनुको कारक तत्वको रुपमा व्यक्तिको वशांणुगत पक्ष पनि जिम्मेवार रहने तथ्य विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ।

वातावरणीय प्रभाव

व्यक्तिको वातावरणीय पक्षको प्रभाव भन्नाले विगतका कुनै अप्रिय घटना, शारीरिक या मानसिक स्वास्थ्य स्थिति एवम् आर्थिक–सामाजिक पक्षसंग सम्बन्धित कुनैपनि कारक तत्व भन्ने बुझिन्छ। जसकारण पनि व्यक्तिमा एलेक्सिथाईमिया समस्या उत्पन्न गराउन मद्दत गर्दछ।

मस्तिष्कमा लागेको कुनै घाउ वा चोट

मस्तिष्कमा लागेको चोटपटकले पनि व्यक्तिमा एलेक्सिथाईमियाको स्तर वृद्धि गर्दछ। यसबाहेक बढ्दो उमेरले पनि व्यक्तिको एलेक्सिथाईमियालाई बढावा दिने गरेको पाइन्छ।

बिछोडले किन पिडा उत्पन्न गराउँछ?

यस्तै पछिल्लो समयमा प्रेमको बिछोड वा वियोगका कारण पिडा भयो र यसैकारण मानसिक आघात पुग्यो भन्ने संख्या पनि बढेको देखिन्छ ।  तर, यसलाई अलि फरक ढङ्गले हेर्ने हो भने बिछोडभन्दा पनि विशेषगरी अन्य दोस्रो व्यक्तिबाट गरिने तर पूराहुन नसकेका अपेक्षाले व्यक्तिलाई निराश बनाउँछ। प्रेममा उदार बन्ने नाममा पछिल्लो पुस्ता आफ्नो हरेक आवश्यकता, इच्छा एवम् चाहनालाई मार्दै आफ्नोभन्दा अरुको(प्रेमी/प्रेमिका)को रहरलाई पूरा गर्ने ध्याउन्नमा लागेको देखिन्छ।

जसकारण आफुभन्दा बढी महत्व दिएको व्यक्तिले आफुलाई पनि त्यसैगरि महत्व दिऊन् भन्ने अपेक्षा राख्छन्, र त्यही किसिमको प्रतिक्रिया नमिलेपछि त्यस्ता व्यक्तिहरु एक–आपसबाट टाढिन्छन्। र, त्यसैले दिने भावनात्मक आघातका कारण व्यक्तिलार्ई पिडा महशुस हुन्छ।

भावनात्मक आघातबाट राहत पाउन के गर्ने?

प्रेममा हुने बिछोडका कारण मानसिक समस्याबाट गुज्रिने र राहतको विकल्पमा आफैलाई हानी गर्ने, कुलतमा लाग्ने, समस्या समाधानका लागि नकरात्मक बाटो पहिल्याउने, र आत्महानी वा आत्महत्याको सोच समेत राख्ने व्यक्तिको संख्या पछिल्लो समयमा बढ्दो देखिएको छ।

यद्यपि विशेषगरी किशोर किशोरी एवम् युवापुस्ताको उल्लेखनीय जमातमा यस्ता समस्याको विकल्प ठानिएको आत्महत्या र आत्महानी भने पक्कै पनि युक्तिपूर्ण विकल्प हुदै होइन। यसलाई समयमा नै पहिचान गरी उपयुक्त ढंगले व्यवस्थापन गर्नु पर्दछ । किशोरकिशोरीको स्वस्थकर व्यक्तित्व निर्माण तथा परिपक्क सामना शैलीको विकासका लागि परिवार, समाज र शिक्षकले सहजीकरण  गर्नुपर्दछ ।

यसका लागि व्यक्तिले पनि आफ्नो यथार्थलाई स्वीकार गरेर त्यसबाट अघि बढ्छु भन्ने ढृढ विश्वास राख्नुपर्छ। यसबाहेक कुनैपनि किसिमको अप्रिय घटनाको स्मृतिबाट टाढा रहन निम्न उपायहरु अपनाउन सकिन्छ:

–नियमित योग तथा शारीरिक व्यायाम गर्ने

–सकरात्मक सोचको विकास गर्ने

–दैनिकीको रुटिङ बनाई त्यसको नियमित रुपमा अनुशरण गर्ने

–रचनात्मक कार्यमा समय व्यतीत गर्ने

–आत्मविश्वासी रहने

–सकभर आफु खुसी रहन प्रयास गर्ने

–आफुलाई लागेका कुरा आफ्नो विश्वासिलो साथी वा आफन्तसंग व्यक्त गर्ने

–मनपर्ने वा नजिकका व्यक्तिसंग समय व्यतीत गर्ने

–र, आवश्यक परेको खण्डमा मनोपरामर्शदाता एवम् मनो-चिकित्सकको सल्लाह लिने।

नोट : आत्महत्या वा आत्महानीको सोच, योजना वा गतिविधी भएमा चौबीसै घण्टा नि:शुल्क संचालनमा रहेको फोन नम्बर ११६६ बाट ‘आत्महत्या रोकथाम हटलाईन सेवा’ तथा उपयुक्त परामर्श लिन सकिन्छ ।

(हिमालय पोष्टकर्मी सृजना मगरले डा. कार्कीसंग गरेको कुराकानीमा आधारित ।)