काठमाडौँ- निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाको मतपत्र सदरमुकाममा ल्याएर सुरक्षा दिने भएको छ। सदरमुकाममै मतपत्र भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिएको हो।


ADVERTISEMENT


पहिलो चरणको मतपत्र दोश्रो चरणको मतदान नसकिदाँसम्म ११ दिन भण्डारण गर्नुपर्ने हुन्छ। आयोगका प्रवक्ता नवराज ढकालले दुई निर्वाचन क्षेत्र भएका जिल्लाहरुको मतपत्र पनि एकै स्थानमा जम्मा गर्न लागेको बताए। दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखा र बाग्लुङमा पहिलो चरणमा निर्वाचन हुदैँछ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा चुनाव भएको दश दिनपछि दोश्रो चरणको निर्वाचन मंसिर २१ गते हुदैँछ। दुवै चरणको मतगणना २१ गतेपछि मात्रै सुरु हुनेछ।

लमजुङमा मतपत्र सुरक्षाका लागि सिसिटभी निगरानी गरिने भएको छ। राससका अनुसार लमजुङमा मत परिणाम घोषणा नभएसम्म सिसिटिभी निगरानीको व्यवस्था गरिएको हो। नुवाकोटका जिल्ला निर्वाचन अधिकृत लोकजंग शाहले मतपत्र खसालिएको बाकसको सुरक्षाका लागि २५ जना प्रहरी २४ सै घण्टा परिचालन गर्ने बताए।

‘बाहिर सेनाले २४ सै घण्टा गस्ती गर्नेछ। भित्र हतियार सहित १० नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी खट्नेछन्’, शाहले सेतोपाटीसँग भने, ‘मतपत्र राखिने कार्यालयमा अन्यलाई जान समेत पासको व्यवस्था गरेका छौँ।’ नुवाकोटमा कोष तथा लेखा नियन्त्रकको कार्यालय परिसरमा मतपत्र भण्डारण हुनेछ। त्यहाँका कर्मचारीका लागि समेत जिल्ला निर्वाचन कार्यालयले छुट्टै पासको व्यवस्था गरेको छ।

नुवाकोटमा जस्तै सिन्धुपाल्चोकमा पनि मतपत्र भण्डारण स्थलमा तीन तहको सुरक्षा हुनेछ। ‘पहिलो घेरामा प्रहरी, दोश्रोमा सशस्त्र र तेश्रोमा नेपाल प्रहरी रहन्छन्’, जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले भने, ‘दलका प्रतिनिधि मतपत्र राखिएको स्थल बाहिर टेन्ट राखेर बस्छौँ भन्छन् भने ठिकै छ।’

उनले मतपत्र भण्डारण गरिने कोठामा ताला लगाएर सिल लगाउने बताए। नेपाल प्रहरीले मतदान केन्द्रहरुमा खटिएका प्रहरी र म्यादी प्रहरी समेत मतगणना स्थलको सुरक्षामा खटिने भएकाले सुरक्षामा कुनै समस्या नहुने जनाएको छ।