काठमाडौँ – नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संगठनहरुको कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालयमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरुको तदर्थ कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल मुस्लिम संघदेखि शुभेच्छुक संस्थाहरुको तदर्थ कार्यसमिति भंग गरिएको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टीको विभिन्न तहको विभिन्न पदहरुमा निर्वाचित या मनोनित भ्रातृ शुभेच्छुक संस्थाको सभापति वा पदाधिकारीको पद कांग्रेसको विधान अनुसार स्वत रिक्त भएकोले ती पदहरुमा पदपूर्ति गर्ने निर्णय भएको उनले बताए । केन्द्रको हकमा केन्द्रीय सभापतिले यथाशीघ्र परामर्श गरी पदपूर्ति गर्ने निर्णय गरेको उनको भनाई छ । त्यस्तै बैठकले फागुन मसान्तभित्र बिभिन्न संघको तदर्थ समितिसमेत चयन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता महत्तले बताए ।

त्यस्तै बैठकले पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै घरघर जाऔं कांग्रेस जिताऔं अभियान घोषणा गरेको छ । कांग्रेस प्रवक्ता महतले आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुने जानकारी दिए । बैठकले स्थानीय निर्वाचनको घोषणापत्र लेख्ने लगायतका आवश्यक समिति परामर्शमा गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको उनले बताए ।

त्यस्तै बैठकले नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा उच्चतम प्रयोग हुनेगरी एमसीसी सहायता स्वीकार गर्नुपर्ने धारणा तय गरिएको महत्तले बताए ।

प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार भएको भन्दै अहिले विरोध गर्नेहरू नै त्यसको सम्झौता प्रक्रियामा सहभागी रहेको बताए । उनले नेपालले एमसीसीबारे लिने निर्णयले अन्य दातृ संस्थाबाट आउने सहयोगसमेत प्रभावित हुने भन्दै बाहिर प्रचार भएजस्तो एमसीसी परियोजना आउँदैमा अमेरिकाले सेना पठाउने कुरा भ्रममात्रै भएको धारणा राखे ।