विनोद सिंह विष्ट, बैतडी– पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा तीन हजार ५०० जनशक्ति परिचालन गरिने भएको छ ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीका अनुसार दुई हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र स्वयंसेवक गरी तीन हजार ५१२ जना जनशक्ति परिचालन गरिन लागिएकोे हो । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७३५, सशस्त्र प्रहरीका १८८, नेपाली सेनाका ३१० र म्यादी प्रहरीका ८१५ र अनुसन्धान प्रहरीका १५ गरी कूल दुई हजार ६३ जना सुरक्षाकर्मी खटिने भएका छन् ।


ADVERTISEMENT

# # #


बैतडीमा रहेका १८२ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत खटाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक रुपमा टाढा रहेका जिल्लाका सिगास, शिवनाथ, पञ्चेश्वर गाँउपालिका र पुर्र्चौडी नगरपालिकामा मतदान सामग्रीसहित कर्मचारी पठाइएको हो । बाँकी ठाउँमा बिहीबारसम्म कर्मचारी पुगिसक्ने जल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेका छन् ।

बैतडीमा थप सात हजार नयाँ मतदाताले मतदान गर्न पाउने भएका छन् । गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै सात हजार ३६ मतदाता थपिएको हो । यसमा ६४ हजार ४७१ पुरुष, ६७ हजार ८४६ महिला र दुईजना तेस्रोलिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तीन स्थानमा १२ जनाको प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि पाँच उम्मेदवार मैदानमा छन् । प्रदेश ‘क’ मा पाँच र ‘ख’ मा दुईजना भिडिरहेका छन् ।

प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्द, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै, प्रदेश क मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यस्तै प्रदेश ख मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट भिडिरहनु भएको छ । चुनावलाई लक्ष्य गरेर बैतडीमा सबै राजनीतिक दल आफ्नो पक्षमा मतदाता तान्न अन्तिम कसरतमा रहेका छन् ।

३८ मतदानस्थल संवेदनशील

यही मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका तीनवटा मतदानस्थललाई अतिसंवेदनशील र ३८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए । पुरचौडी नगरपालिका–३ मा रहेको न्वादेउ आधारभूत विद्यालय केन्द्र, पुरचौडी नगरपालिका–४ मा रहेको पहरोल मावि केन्द्र र खेती मावि तल्लादेही केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । न्वादेउ आधारभूत विद्यालय केन्द्र आसपासमा स्थानीय तहको निर्वाचनका बेला बम विस्फोट भएको थियो ।

यस्तै, ३८ वटा मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । बैतडीमा आगामी निर्वाचनका लागि १२० वटा मतदानस्थल र १८२ वटा मतदान केन्द्र तोकिएका छन् ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि प्रदेश नं ७ का नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन् । सीमा नाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रजिअ जोशीले जानकारी दिए । उनले भने, “चुनावी सुरक्षालाई ध्यानमा राखेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुई देशका सुरक्षा अधिकारीबीच भइसकेको छ ।”

बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न दिइने छैन । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ जोशीले बताए ।

चुनावी सुरक्षालाई ध्यानमा राखेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेलसम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।रासस