काठमाडौँ– कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बनेका छन् ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।


ADVERTISEMENT

# # #


मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहणयात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिए । उनले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काममध्येकै एक रहेको उल्लेख गरे।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताए ।

यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बतार्ए । उनले भने, ‘मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।’ पर्वतारोही पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् ।

आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसारभर चर्चित रहेको छ । रासस