काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारी राजीनामा माग गरिएकोप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियु त्रि.वि. इन्चार्ज तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य मदन विष्टले सत्तारुढ दल निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघको कदमको विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्रिवि पदाधिकारीले मासिक तलब सुविधा माग गर्दै आन्दोलनरत करार तथा आंशिक प्राध्यापकहरूको समस्या समाधान नगरेको भन्दै प्रध्यापक संघले उपकुलपति र पदाधिकारीको राजीनामा माग गरेका थिए । तर, प्रध्यापक संघले अप्राज्ञिक र उत्शृङ्खल वक्तव्यवाजी गरेको भन्दै अनेरास्ववियुले त्यसको विरोध गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरूले त्यही जनताको संस्थालाई धरासायी बनाउन उद्त रहनु प्राज्ञिक र राजनीतिक रुपले अनैतिक छ ।’ विश्वविद्यालयमा तालाबन्दीको संस्कारको बिऊ रोप्ने र हुर्काउने काम प्रध्यापक संघले नै गरेको अनेरास्ववियुको आरोप छ ।

सत्ताको फेरो समाएर लाखौँ लाख विद्यार्थीको भविष्य धरापमा पार्ने गरी विश्वविद्यालयलाई बन्दक बनाउनु, गुण्डागर्दी शैलीमा कागजी खोस्टो मार्फत धम्काउनु पेशागत दृष्टिले पनि अक्षम्य रहेको त्रिवि अनेरास्ववियुको भनाई छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रि.वि. सेवा आयोगका परीक्षाहरू स्थगित गर्न दवाब दिने, आफुनिकटका प्राध्यापकहरूलाई लाभका पदमा नियुक्तिका लागि दबाब दिने क्रियाकलाप कसरी विश्वविद्यालयका हितमा हुन्छन् ?’

लोकतन्त्रमा सत्ता परिवर्तन हुँदैमा स्वायत्त संस्थाका पदाधिकारीहरूले पनि राजीनामा दिनुपर्ने र सत्ता निकटका व्यक्तिहरू नियुक्त गर्नुपर्ने भन्ने लुप्त स्वार्थ प्रेरित कुनै पनि कदम स्वीकार्य नहुने अनेरास्ववियुले जनाएको छ ।