नुवाकोट – नेपाली कांग्रेसका युवा नेता एसके नेपालले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाकाका मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय नेता नेपाल जिल्लामा मात्र नभएर केन्द्रमा समेत बौद्धिक, कर्मठ, अध्ययनशील, विनयशील, कुशल वक्ता एवं सिर्जनशील सोच राख्ने नेताका रुपमा परिचित छन् ।


ADVERTISEMENT


लामो समय शिक्षण पेसामा सक्रिय रहेका कारण नेता नेपाल एक कुसल प्रशासकका रुपमा समेत परिचित छन् ।  कार्यकर्ता र युवाहरुको नवीन बिचारहरु र उनका सिर्जनशीलतालाई छिटो महसुस गर्नसक्ने क्षमताका धनी युवा नेता नेपाल पाका उमेरका मतदाताहरुमाझ पनि चर्चाको पात्र बनेका छन् ।


ADVERTISEMENT

# # #


वैज्ञानिक कृषिप्रणाली , युवाहरुलाई रोजगार , पूर्वाधार र विकासमा जोड , ‌औद्योगीकरण, वातावरणको स्वच्छता, सर्वसुलभ र रोजगारमुखी शिक्षा, अर्थतन्त्रको सही सदुपयोग र स्थानीय स्रोत साधनको वैज्ञानिक उपयोग जस्ता मूलभूत मुद्दाका हिमायती  नेता नेपाललाई बेलकोटगढीमा पार्टीले टिकट दिएको खण्डमा चुनाव जित्ने विभिन्नखाले धारणाहरु बनेको नगरबासीहरु बताउँछन् ।

मेयर पदमा उम्मेदवारी घोषणासँगै नेता नेपाल नगरका विभिन्न चुनावी कार्यक्रम र मतदाताहरुसँग भलाकुसारी गर्न सक्रिय छन् ।  नेता नेपालले हिमालय पोष्ट डटकमसँगको कुराकानीमा  नगरको हित कुनकुन कुराले हुनसक्छ भन्ने विभिन्नखाले खाका आफूले बनाइसकेको,  सुन्दर बेलकोटगढीको अभियानमा जुटिरहेको  र कांग्रेस नेता कार्यकर्ताको उत्साहजनक समर्थन मिलिरहेको बताए ।

को हुन् नेता एसके नेपाल ?

नेता नेपाल विद्यार्थीकालीन समयदेखि नै मुलुकको जेठो पार्टी नेपाली कांग्रेसमा आबद्ध  रहे । उनी वि सं २०४२ सालमा पञ्चायतविरुद्ध कांग्रेसले गरेको सत्याग्रहसँगै कांग्रेसमा संगठित भई विद्यालय पोसाकमा नै आन्दोलनको अग्रमोर्चामा उभिँदा सबैको आकर्षणमा परेका कारण एक होनहार युवाका रूपमा चर्चामा आएका थिए । तत्कालीन पत्रपत्रिकामा उननका तस्बिरहरु रङ्गिएका थिए ।

सोही समयदेखि नै कांग्रेसको राजनीतिमा औपचारिक रूपमा लागेका नेपाल सत्याग्रहमा सहभागी भएका बेला राज्यसत्ताले विद्यार्थीको ड्रेसमा नै पक्राउ गरेको स्मरण गर्दछन् ।

नेपाल विद्यार्थी संघमा सक्रियता 

काठमाडौंको चर्चित पिपुल्स कलेजमा नेविसंघ स्थापना गर्नेमध्येका विद्यार्थी नेतामा नेता नेपालको नाम आउँछ । उनी २०४५ सालदेखि शिक्षण पेसामा संलग्न भएसँगै पेसागत राजनीतिमार्फत् लोकतन्त्रको पक्षमा हुने आन्दोलनमा सक्रिय सहभागी रहँदै आएका छन् ।

नेपाल शिक्षक संघमा नेता नेपाल

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको संस्थापक सदस्य समेत रहेका एस के नेपालको अग्रसरतामा शिक्षक सहकारी समेत सञ्चालनमा रहेको र त्यसको अनुभवले नगरपालिकामा कृषि सहकारी सञ्चालन गर्नसक्ने कुरामा उनी ढुक्क छन् ।

२०४६ सालको आन्दोलनमा नेता नेपाल 

२०४६ सालको आन्दोलनका ४९ दिन नै उनी सडकमा थिए । त्यसक्रममा उनी पटकपटक पक्राउसमेत परेका थिए । उनले नुवाकोटका तत्कालीन पार्टी सभापति बद्रीराम भण्डारीलगायतसँग जनआन्दोलनका क्रममा काम गरेका थिए ।
बेलकोटगढी नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका नेपाललाई पहिलो स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न नुवाकोट कांग्रेसका अग्रज नेताहरुले आग्रह गरे पनि उनले अरु वैकल्पिक उम्मेदवारलाई सघाएर त्याग र भाइचाराको भूमिका निभाएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट प्रबल दाबेदार नेपाल मृदुभाषी, सहयोगी, अध्ययनशील, कर्मठ, तार्किक, बौद्धिक र कार्यकर्ताकामाझ छिटै भिज्ने स्वभावका रहेका स्थानीयहरु बताउँछन्  ।

पार्टीको आन्तरिक बेमेलको कारण प्रदेश सांसद हुन सकेनन् नेपाल

मेयर पदसमेत अस्वीकार गरेका नेपाललाई पार्टीले उनको योगदान र त्यागलाई मध्यनजर गर्दै उनको नाम वागमती प्रदेश सभा सांसदका लागि सिफारिस गरियो । तर पार्टीभित्रको आन्तरिक बेमेलको कारण उनले अन्तिम समयमा टिकट पाएका थिएनन् ।

नेता नेपालका विविध कार्यक्षेत्र र सक्रियताका पाटाहरु 

नेता नेपालको अगुवाइमा २०४८ सालमा नुवाकोट प्रजातान्त्रिक बिचार समाजको स्थापना भएको थियो । उनी समाजका संस्थापक उपाध्यक्ष हुन् । नेता नेपाल झापाको कलवलगुडीमा २०४८ मा नेपाली कांग्रेसको आठौं महाधिवेशनमा पर्यवेक्षको रूपमा, पोखरामा २०५७ मा भएको कांग्रेसको दशौं महाधिवेशन, काठमाडौंमा २०६२ मा भएको एघारौं महाधिवेशन र काठमाडौंमै २०७२ सालमा भएको १३ औँ महाधिवेशनमा नेता नेपाल नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि रहेका थिए ।

नेता नेपालको अबको बाटो 

यसपटक भने नेता नेपालले नै काङ्ग्रेसका तर्फबाट टिकट पाउने र अत्यधिक मतले चुनाव जित्ने निश्चित रहेको कांग्रेसका शीर्ष नेताहरूले नै बताउने गरेका छन् ।

जनताको रोजाइका उमेदवार पनि उनी नै भएको कुरा चोकचोकमा सुनिन थालिएको छ । अन्तिम समयमा आएर पार्टीले गत निर्वाचनमा टिकट नदिँदा पनि नेता नेपालले स्थानीय तहमा पार्टीको काममा पूर्णतः सक्रिय भएर लागेका कारण यसपालि उनैलाई टिकट दिनुपर्छ भन्दै नगरपालिकाका प्रबुद्ध व्यक्तिहरूले चर्चा गरिरहेका छन्।