काठमाडौं – नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ । महासंघको दोश्रो महाधिवेशन आयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) चयन भएपछि फागुन २९ गते काठमाडौंमा आयोजक कमिटीको विस्तारीत बैठक सम्पन्न गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।


ADVERTISEMENT


प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहेका महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्र्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँगाउँसम्म पु¥याउने र खेलकुद गतिविधिलाई घरघरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


महासंघको बैठकले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धीका लागि “एक पालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार” निर्माण लाई आगामी स्थानीय निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नका लागि नेकपा एमालेलाई अनुरोध गर्ने विशेष प्रस्ताव समेत पास गरेको छ ।

महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासंघको बैठक सन्चालन कार्यविधि २०७८ पारित गरी लागु समेत गरेको छ । बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ । त्यस्तै, महासंघले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

महासंघको बैठकले केन्द्रमा प्रतिनिधित्व नभएका जिल्लालाई मध्यनजर गर्दै विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनीत गरेको छ । साथै महासंघको विधानमा व्यवस्था भए बमोजिम २१ वटा केन्द्रीय विभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको छ ।

नेपाल खेलकुद महासंघले ८ मध्ये पहिलो चरणमा ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी दुई प्रदेश लुम्बिनी र गण्डकीमा क्रमशः १० चैत र १९ चैैतमा अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै, सबै जिल्लाका अधिवेशनहरु एक महिने अभियान अन्र्तगत ५ चैतबाट सुरु गरेर ५ वैशाखसम्म सम्पन्न गर्ने निर्णय गर्दै मातहत कमिटीलाई निर्देशन समेत गरेको छ ।

नेपाल खेलकुद महासंघले बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलार्ई लक्षित गर्दै धरमबहादुर लामालाई १ हजार १ सदस्यीय स्थानीय निर्वाचन परिचालन अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । सबै प्रदेशका पदाधिकारी, राष्ट्रिय खेलसंघका पदाधिकारी, जिल्लाका कमिटीका पदाधिकारी, महानगर तथा उपमहानगरका अध्यक्ष एवं नगर तथा गाउँपालिकाका अध्यक्षहरु र खेलप्रेमीहरु स्वयंसेवा गर्नका लागि अभियानमा सक्रिय रहनेछन् । आगामी वैशाखमा काठमाडौमा एक कार्यक्रम गरी उक्त अभियानको थालनी गरिनेछ ।