भरतपुर – बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् ।


ADVERTISEMENT


हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेका थिए । टोलभित्र आइपर्ने विपद्मा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्नेगरी कोष स्थापना गरिएको सभाषद सुवेदीले बताए ।


ADVERTISEMENT

# # #


टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन । गत वर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि उनले यसलाई निरन्तरता दिएको बताए ।

उनले अन्य टोल विकास संस्थामा पनि यस्ता कोष स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने जानकारी दिए । इन्द्रेणीटोलका अध्यक्ष मिलनकुमार लामाले टोलमा गरिने सहयोगले स्थानीयवासीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक रु। १०० बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिए ।