काठमाडौं – नेपाली सेनामा जागिर लगाइदिन्छु भनेर रकम ठगी गर्ने एक व्यक्तिलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


आफू नेपाली सेनाको क्याप्टेन भएको भन्दै तीन जनालाई ९ लाख ७५ हजार १४० रूपैयाँ ठगी गरेको आरोपमा ओखलढुंगा मानेभञ्ज्याङ – ५ घर भई पोखरा बस्ने धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार परियारले आफूलाई सहसेनानी अर्जुन कटुवाल भनेर चिनाउने गरेका थिए । उनले आफू मिसनका लागि विदेशमा रहेको र सिंगापुर पुलिस, नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट र सिपाही पदमा जागिर लगाइदिन्छु भन्दै फेसबुकबाट कुराकानी गरेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनका साथबाट नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, सहसेनानीको दर्ज्यानी चिह्न र अर्जुन कटुवाल नै नामको चेसप्लेट भएको चुस्ता, हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रयाकसुटलगायत बरामद गरिएको छ ।