झापा– कार्यस्थलमा हुने हिंसालाई पत्रकारहरूले खुलेर प्रतिवाद गर्ने जनाएका छन् । मिडिया एड्भोकेसी ग्रुप र सोलिडारिटी सेन्टरद्वारा संयुक्त रुपमा बुधबार विर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरूले कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसा भोग्दै आएको र अब यसलाई प्रतिवाद गर्ने बताएका हुन् ।


ADVERTISEMENT


नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले हिंसामा पुरुष पत्रकारको तुलनामा महिला पत्रकार बढी पर्ने गरेकोे बताए । ‘हिंसा महशुस हुनसाथ डटेर प्रतिवाद गर्नुपर्छ’, उनले भने, ‘स्वयं व्यक्तिले नै आँट र आत्मविश्वास बढाउनुपर्छ, खुलेर विरोध गर्न सक्नुपर्छ अनि मात्र हिंसाबाट बच्न सकिन्छ ।’


ADVERTISEMENT

# # #


पत्रकार सन्तोष न्यौपाने, शिशिर चौलागाई, नरेन्द्र ढकाल र पुष्प खड्काले सरकारको उपल्लो तहमा रहेका व्यक्तिहरूबाट महिला पत्रकारले मात्र नभएर पुरुष पत्रकारले समेत हिंसा भोग्नु परिरहेको बताए । उनीहरुले कुट्नु, पिट्नु र शारीरिक दुर्व्यवहार गर्नु मात्र हिंसा नभएर मिडिया हाउसले काम गरेको पारिश्रमिक नदिनु, महत्वपूर्ण विषयको रिर्पोटिङका क्रममा सरकारी निकायका उपल्लो तहका व्यक्तिले भनाइ दिन आलटाल गर्नु पनि कार्यस्थलको हिंसा भएको बताए।

पत्रकार इन्दू पूर्वेलीले हिंसाका बारेमा खुलेर बोल्न सक्दा मात्र हिंसा निरुत्साहित हुने विचार व्यक्त गरे । लीला अनमोल, माया मितुलगायतले महिलाको पहिचान स्वीकार्न नसक्ने जान्ने, बुझ्ने व्यक्तिहरूबट नै कार्यस्थलमा बढी हिंसा हुने गरेको बताए ।

कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि प्रशस्त छलफल, अन्तक्र्रिया र मिडिया हाउसले स्वयं आचारसंहिता बनाएर लागू गर्न आवश्यक रहेको कार्यक्रमको निष्कर्ष थियो । कार्यक्रमको सहजीकरण अम्बिका भण्डारी र सावित्रा दाहालले गरेका थिए । रासस