काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् । संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने।
पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्।
त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो । १४औं महाधिवेशनअधिको संस्थापन इतर समूहलाई समेटेर अघि बढ्ने तत्परता शेखरले पनि देखाएनन् । महाधिवेशनपछि पनि भित्रभित्रै आफू निकटहरूको भेला र बैठकलाई निरन्तरता दिएका शेखर, गगन थापासहितका नेताले बाहिर भने आफूलाई भागबन्डाको विपक्षमा प्रस्तुत गर्दै आए। आफ्नो समूहबाट पार्टी उपसभापति र महामन्त्रीमा पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन नगरेकोमा भने उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर उनीहरूको असन्तुष्टिलाई सभापति देउवाले खासै महत्त्व दिएनन् ।
सभापति देउवाले बुधबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व तोकेसँगै बसेको शेखर पक्षको भेलाले असन्तुष्टि पोख्यो । त्यो भेला देउवाले आफूहरूलाई पेलेर अघि बढेको भन्दै प्रतिरोधमा उत्रिने निष्कर्षमा पुग्यो। भ्रातृ संगठनका समानान्तर समितिहरू गठन गर्ने भन्दै शेखर पक्षले आफ्नो गुट जगाउने प्रयास सुरु गरेको छ । नागरिक दैनिकबाट ।