काठमाडौं – स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।


ADVERTISEMENT


महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए ।


ADVERTISEMENT

# # #


आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ । “महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ”, उनले भने । शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताउँछन् । आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी पढ्दै छन् । पोखरियामा पनि उत्तिकै विद्यार्थीको आकर्षण रहेको बताइन्छ ।

विराटनगरको महेन्द्र माविले नयाँ भौतिक संरचनासहित कम्प्युटर शिक्षालाई जोड दिएको छ । अडियो भिजुअल कक्षालाई अगाडि बढाएपछि निजी जतिकै गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधार उपभोग गरी पठनपाठन गराउन सकिएको प्राचार्य चन्द्रप्रसाद साहले बताए ।

कोभिडका कारण दुई वर्ष हामीलाई केही कठिनाइ भयो तर विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न हामीले गरेको काम सार्थक बन्न पुगेको छ उनको भनाइ छ । विद्यार्थी दिनेश मण्डलले सरकारी विद्यालयमै सहज ढङ्गले आफूहरुले कम्युटरसम्बन्धी शिक्षा लिन पाएको खुसी हुँदै भने, “मलाई पहिलेदेखि नै आइटीसम्बन्धी पढ्न मन थियो । निजीमा महँगो शुल्कको कारण समस्या भर्ना हुन सकिन तर सरकारी विद्यालयमै त्यही कक्षा पढ्न पाइने भएपछि यतै आएँ ।”

विराटनगरको जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । यसबाट प्राविधिक शिक्षामा विपन्नको समेत पहुँच पुगेको दाबी गर्दै प्रमुख पराजुलीले भने, “यो पाँच वर्षको अवधिमा हामीले शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्नुको साथै हामीले शिक्षाको गुणस्तर सुधार गर्नको लागि समेत काम गरेका छौँ । यसको परिणामसमेत देखिन सुरु भएको छ ।”

विद्यालयले समावेशी शिक्षालाई जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठनपाठन गरिरहेको प्रमुख पराजुलीले बताए । धेरै विद्यालयमा खेल सामग्रीसहितका बाल कक्षा सञ्चालन गरेर खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढाउन थप सहयोग पुगेको बताइएको छ ।

प्रमुख पराजुलीले भने, “मैले जनप्रतिनिधिको हैसियतमा पाउने पारिश्रमिक हस्तान्तरण गरेर दुईवटा आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेको छु । यसबाट सीमान्तकृत समुदायका विद्यार्थीलाई विद्यालयसम्म ल्याउन बल पुगेको छ ।” उनले नगरक्षेत्रकै थप आधारभूत विद्यालयमा पनि नियमित अनुगमन गरी शैक्षिक गुणस्तर सुधारमा ल्याउन क्रमशः सफलता मिलिरहेको छ भने ।

पोखरीया माविको नयाँ भवन निर्माणको कामले गति लिएको र धेरै विद्यालयमा यातायात साधन व्यवस्थापनमा समेत महानगरले काम गरेको प्रमुख पराजुलीको दाबी छ । सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले महानगरले आधारभूत विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्न गरेको काम निकै सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो र उनले भने, “कतिपय विद्यालयमा भने शिक्षक कर्मचारी दरबन्दी मिलान र मागको आपूर्तिको तादम्यता मिलाउन अझ मिहीन ढङ्गले काम गर्न जरुरी छ, खेल सामग्रीको व्यवस्थापनमा समेत अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।” रासस