काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्ने भएको छ । स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।


ADVERTISEMENT

# # #


यस्तै बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ । नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो । त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन् ।

आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ । वैशाख ३० मा चुनाव हुने भएकोले अहिलेदेखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ ।

माओवादी अध्यक्ष प्रचण्डले बुधबार चितवन पुगेर भरतपुरको मेयरमा पार्टीको दाबी रहेको बताइसकेका छन् । भरतपुरमा यसपालि कांग्रेसले आफूले नछाड्ने बताइरहेको छ ।