काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । त्रिवी क्रिकेट मैदानमा २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ३८ रनमा समेटियो ।


ADVERTISEMENT


मलेसियाका लागि विरणदिप सिंहले सर्वाधिक ४७ रनको योगदान गरे । कप्तान अहमद फैजले ३३ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले समान दुई–दुई विकेट हात पारे । कुशल भुर्तेल र रोहित पौडेलले एक–एक विकेट लिए ।


ADVERTISEMENT

# # #


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक पुरा गरे । दिपेन्द्रले ५७ बलमा १ सय १० रन जोड्दा १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टीमा दिपेन्द्रको पहिलो शतक हो ।

रोहित पौडेलले ३४ बलमा ५१ रन जोडे । उनको यो पहिलो अर्धशतक हो । आदिल अन्सारीले १४ रन जोडे । ओपनर आशिफ शेख १८ तथा कुशल भुर्तेल १२ रनमा आउट भए ।

मलेसियाका लागि मुहमद वफिक, पवनदिप सिंह, स्याजरुल इदरुस र मुहमद आमिरले एक–एक विकेट हात पारे । नेपालले चारवटै खेल जितेर फाइनलको यात्रा तय गरेको छ । नेपालको जितपछि पपुवा न्यूगिनी फाइनलमा प्रवेश गरेको छ । पीएनजी र मलेसियाले समान २ अंक जोडेपनि नेट रनरेटका आधारमा पीएनजी फाइनलमा प्रवेश गरेको हो । फाइनल सोमबार हुनेछ ।