जनकपुरधाम – आजबाट औपचारिक रूपमा सञ्चालन आएको जयनगर–जनकपुर–कुर्था रेलको जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।


ADVERTISEMENT


नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेपछि जयनगरबाट हिँडेको रेल दिउँसो जनकपुधाम आइपुगेको हो ।


ADVERTISEMENT

# # #


वर्षौको प्रतीक्षापछि औपचारिक रूपमा रेल चल्ने भएपछि निकै उत्साहित देखिएका सर्वसाधारणले दुलही झैँ सिंगारिएको रेलको जनकपुरधाममा स्वागत गरेका छन् ।

ऐतिहासिक यो क्षण हेर्न सर्वसाधारण बिहानै रेल्वे स्टेशन पुगेका थिए । स्टेशनमा सर्वसाधारणको व्यापक भीड लागेको थियो । विद्यार्थीहरूले पनि नेपाल र भारतका झण्डा फहराउँदै रेलको स्वागत गरेका थिए ।

जयनगरबाट जनकपुरधाम आएको रेल मुख्य स्टेशन कुर्था पुगेको छ । रेलवे विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको थियो ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४.९ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाक तयार भएको हो । रेलका प्रत्येक सेटमा इन्जिनसहित ५ वटा बोगी छन् । चारवटा बोगीमध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी रहेका छन् ।

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि आज चार वटा परियोजनाको उद्घाटन गरिएको थियो । त्यसमध्ये बहुप्रतीक्षित जयनगर–जनकपुर–कुर्था रेल सेवाको पनि उद्घाटन गरिएको हो ।

उद्घाटन दिल्लीमा भएको छ भने जनकपुरधाम आजै औपचारिक कार्यक्रम हुन लागेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा संघ तथा मधेश प्रदेशका पदाधिकारी साथै भारतीय राजदूतावासलगायत प्रतिनिधि पनि सहभागी हुने छन् । रेल आइतबारबाट नियमित रूपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।