काठमाडौँ– राष्ट्रिय ट्रमा सेन्टरमा दूर्लभ मानिने शल्यक्रिया सम्पन्न भएको छ । अस्पतालमा एक पाँच वर्षीय बालकको छिनिएको हात जोडिएको हो ।


ADVERTISEMENT


सेन्टरले आइतबार पत्रकार सम्मेलन गरी धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको घाँस काट्ने मेशिनमा परी छिनिएको हात जोडेको सुचना सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


अस्पतालका अनुसार, प्लाष्टिक सर्जन प्रा.डा. पियुष दाहालको नेतृत्व १५ घण्टाभन्दा बढी समय लगाएर धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको घाँस काट्ने मेशिनमा परी छिनिएको हात जोडिएको हो ।

शल्यक्रिया टोलीमा प्रा.डा. दाहालसहित डा. पशुपति पोखरेल, डा. महेश देवकोटा, डा. अपार लामिछाने, एनेस्थेसियालोजिस्ट डा. रुपेश यादवलगायतका चिकित्सक तथा नर्स रहेको टोलीले सो शल्यक्रियामा २५ वटा विभिन्न नसा र हड्डीको संरचना जोडिएको बताइएको छ ।

उनका अनुसार गत फागुन ९ गते तीन जना बालक खेल्दै गर्दा मेसिनमा परेर मण्डलको हात दुई टुक्रा भएको थियो । सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीका अनुसार हात छिनेपछि बालकलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । बालकका आमाबुवा दुवै दिल्लीमा रहेकाले छिमेकीले हातको टुक्रासहित प्रादेशिक अस्पताल जनकपुर लगेका थिए ।

बालकलाई जनकपुरमा प्राथमिक उपचार गरी तत्कालै ट्रमा सेन्टर ल्याइएको थियो । समयमा नै अस्पताल ल्याएका कारण हात जोड्न सफल भएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरले पनि उचित प्राथमिक उपचार गरेको हुँदा हात बिग्रनबाट बचेको थियो । फागुन ९ गते राति शल्यक्रिया गरेको भए पनि पूर्ण रूपमा सफल भएपछि मात्र आइतबार सार्वजनिक गरिएको दाहालले बताए । ‘एनेस्थेसिया दिएर १५ घण्टासम्म राख्ने केस थिएन तर हामीले सम्भव गर्‍यौँ’, उनले भने, ‘शल्यक्रिया गर्दा हरेक औँला बचाउनु आफैँमा चुनौतीपूर्ण थियो।’

अस्पतालले बालकको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको अस्पतालका प्रमुख डा. जोशीले जनाए । उनका अनुसार, बालकको उपचारको आईसीयू बेड, शल्यक्रिया लगायतको सबै चार्ज निःशुल्क गरिएको हो। अस्पतालले समूहगत रूपमा काम गरेकाले छिनालिएको हात जोड्न सफल भएको उनको भनाइ छ । अबको काम फिजियोथेरापीले गर्ने उनको भनाइ छ ।