काठमाडौँ – काठमाडौँ उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो ।


ADVERTISEMENT


बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबारको उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका सार्वजनिक सवारी साधनले न्यूनतम २० रुपैयाँ भाडा लिँदै आएका थिए, खुद्रा पैसा दिन नमान्ने या बहाजाबाजी गरेर । र, अब ५ किमिसम्मको न्यूनतम भाडादर २० रुपैयाँ नै कायम गरिएको छ ।


ADVERTISEMENT

# # #


पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा भाडा समायोजन गरिएको जनाइएको छ । अब समायोजित भाडादर अनुसार लोकलमा चल्ने सार्वजनिक सवारी साधनले ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ र २० भन्दामाथि ३८ रुपैयाँ सम्म भाडा लिन सक्नेछन् ।

यसैगरी भाडाका ट्याक्सीको पनि भाडादर समायोजन गर्दै प्रति २०० मिटरको भाडा १० रुपैयाँका दरले हुने निर्णय गरिएको छ । यसअघि उक्त दूरीको रेट ९ रूपैयाँ ८० पैसा थियो ।

यसअघि बाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहितका सार्वजनिक सवारी साधनको भाडादर गत कार्तिकमा वृद्धि गरेको थियो । त्यसयता पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भइसकेको छ ।