कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए ।


ADVERTISEMENT


गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन कार्यालयले आग्रह समेत गरेको छ । वनमा डढेलो नियन्त्रण गर्नका लागि फारलाइन सफा गर्ने, पातपतिङ्गर जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु जलाउ समेत कार्यालयले स्थानीयवासीलाई आह्वान समेत गरेको छ । “आगो कसरी लाग्न सक्छ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ”, उनले भने, “वनरक्षक तथा स्थानीय उपभोक्ता लागिपरेमा न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ ।”


ADVERTISEMENT

# # #


अग्नि प्रतिरोधक जमसुट, वाटर स्प्रे ,हेलमेट, स्वाटरलगायत रु डेढ लाख बरावरको सामग्री सामुदायिक वनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गङ्गाराम रेग्मीले जानकारी दिए ।

अजम्मरी सामुदायिक वन समूहका अध्यक्ष सुकमाया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकामा नियन्त्रण गर्न सहज हुने बताए । कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकाले अग्नि प्रतिरोधक सामग्रीले सहजता आउने जनाइएको छ । अग्नि नियन्त्रण अभ्यासलाई सहायक वन अधिकृत सञ्जय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजीकरण गरेका थिए । रासस