भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडेका छन् ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।


ADVERTISEMENT

# # #


कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो ।

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उनी बताउँछन् ।

जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् ।

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म र २०७८ देखि २०७९ सम्म नौँ र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

तस्बिरहरु : रासस