काठमाडौँ– विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका देशभरिका धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्धार विस्तारै शुरु हुन थालेको छ ।


ADVERTISEMENT


पुरातत्व विभागका अनुसार त्यस भूकम्पमा परी कुल ७५३ चैत्य, मन्दिर तथा गुम्बामा क्षति पुगेको थियो । काठमाडौँमा २४१, भक्तपुरमा ७३ तथा पाटनमा १३० पुरातात्विक महत्वका स्थलमा क्षति पुगेको थियो । जसमा काठमाडौँमा ४३ वटा पूर्णरुपमा क्षति भएको थियो भने ५० वटामा आंशिकरुपमा भत्केको र १४७ वटा चर्केकाले जीर्णोद्दार गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT

# # #


पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले मुलुकभरि क्षति पुगेकामध्ये कुल ८३ वटा मन्दिर तथा पाटीपौवाको पुनःनिर्माण कार्य सम्पन्न भइसकेको तथा ५६ वटा चैत्य तथा मन्दिर बहुवर्षीय योजनामा राखेर जीर्णोद्धार गर्ने तयारी भइरहेको जानकारी दिए ।

देशको महत्वपूर्ण सम्पदाको संरक्षण तथा जीर्णोद्धारका लागि पुरातत्व विभागले विशेष ध्यान दिइरहेको तथा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय दातृ निकाय सामूहिकरुपमा जुटिरहेको उनले बताए ।

पुरातत्व विभागका कर्मचारीबाट क्षति र पुनःनिर्माणका लागि आवश्यक लागत लिने काम भइरहेको बताइएको छ । अरु जीर्णोद्धार हुन बाँकी मन्दिर, सत्तल तथा बौद्ध सम्पदाको पुनःनिर्माण अभियान अघि बढाउन पुरातत्व विभागले हालसालै १७ वटा बोलपत्र आह्वान गर्ने काम भइसकेको महानिर्देशक दाहाल बताए ।

हेरिटेज एण्ड इन्भायरोनमेन्ट कन्जरभेसन फाउण्डेशन नेपालको सहयोगमा चाँगुनारायण मन्दिरको जीर्णोद्धार रु तीन करोडको लागतमा पूरा भएको भइसकेको विभागले जनाएको छ । हनुमानढोकास्थित तलेजु मन्दिरको पुनःनिर्माण पनि सम्पन्न भइसकेको छ भने नौतले दरबारको पुनःनिर्माण चिनियाँ सरकारको पहलमा भइरहेको विभागको भनाइ छ ।

महानिर्देशक दाहालले काठमाडौँको स्वयम्भूस्थित अनन्तपुर मन्दिरको जीर्णोद्धार ९० प्रतिशत सम्पन्न भइसकेको बताउँदै स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा नै रहेको शान्तिपुर मन्दिर तथा पुरातत्व विभागले प्रतापपुर मन्दिरको जीर्णोद्घार गरिरहेको उल्लेख गरे ।

काठमाडौँको गद्दी बैठक अमेरिकी राजदूतको फण्डबाट तथा ललितपुरको बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर तथा स्वयम्भूमा अवस्थित आनन्दकुटी विहारको श्रीलंका सरकारले जिर्णोद्धार गरिरहेको छ । जसमा ललितपुरको बुंमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर आउने दुई वर्षमा जीर्णोद्घार सम्पन्न गर्ने लक्ष्य छ ।

वसन्तपुरस्थित कुमारी घरमा केही चर्केको कारण जीर्णोद्धारका लागि विभागले यसपाली बोलपत्र आह्वान गरिसकेको छ र कुमारी घरको पुनःनिर्माण कार्य पुरातत्व विभागले यस आर्थिक वर्षमा नै काम शुरु गर्ने भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण कार्य रु १९ करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको तथा यसको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकालाई जिम्मा दिइएको छ । जापान सरकारबाट सहयोगस्वरुप हनुमानढोकास्थित आगँछेँ (गमघर) र शिव मन्दिरको पुनः निर्माणको कार्य थालनी गर्ने योजना भइरहेको छ ।

काठमाडौँ तथा ललितपुरका धेरै मन्दिर अझै टेकोको आडमा

काठमाडौँको हनुमानढोका वरिपरिको आगंछेँ (आगम घर), कुमारी घर, माद्यो पार्वतीको मन्दिर आदि अझै टेकोको आडमा ठडिरहेको छ । त्यस्तै पाटनको कृष्ण मन्दिर तथा त्यस क्षेत्र वरपरका मन्दिरमा पनि टेको लगाइएको छ ।

पर्यटकको आकर्षणको केन्द्र रहेको काठमाडौँ र पाटनको दरबार क्षेत्र मल्लकालमा मल्ल राजाको शासन गर्ने प्रमुख थलो थलो हो । जीवित देवी कुमारी रहेको कुमारी घर तथा काष्ठमण्डप अर्को आकर्षणको हो । गद्दी बैठक जीर्णोद्धार शुरु गरिएको देखिए पनि काष्ठमण्डप तथा जैशीदेवलको भने अझै पुनःनिर्माण शुरु भएको छैन ।

हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा रहेका सिन्धुलीका कुमारबहादुर घलेले पुरानै शैली तथा बुट्टा प्रयोग गरी ती स्मारकको जीर्णोद्धार गरिए हाम्रो देशको पहिचान विश्वमा प्रवाह गर्न सहयोगी हुने बताए ।

लिच्छवीकालदेखिको सम्पदा तथा संरचना एउटा विशेष जाति तथा धर्ममा सीमित नभई राष्ट्रको सम्पत्ति भएकाले भूकम्पबाट भत्केका संरचनाको संरक्षण गर्ने दायित्व हामी सबैको भएको उनको धारणा थियो ।