चितवन – नेपालमा निर्वाचन शुरु भएको छ दशकमा साधनस्रोतमा मात्रै होइन, शैलीमा पनि परिवर्तन आएको छ ।


ADVERTISEMENT


विसं २०१५ मा मतदान गरेका वृद्धवद्धाले त्यो बेला र अहिलेको निर्वाचनलाई तुलना गरेका छन् । उनीहरुले अहिलेको शैलीलाई ठूलो तामझामको संज्ञा दिएका छन् ।


ADVERTISEMENT

# # #


पहिलो पटक २०१५ सालमा मतदान गर्ने अहिले ८० वर्ष नाघेका छन् । त्यतिबेला २१ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था थियो । नेपालमा पहिलो पटक २००४ सालमा पहिलो म्यूनिसिपल चुनाव भएको इतिहास छ । यद्यपि बालिग मताधिकारको आधारमा भने २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ ।

पच्चीस वर्षको उमेरमा पहिलो पटक २०१५ सालमा मतदान गरेका ८९ वर्षीय प्रागदत्त गौतमलाई अहिलेको निर्वाचन निकै अनौठो लाग्ने गरेको छ । हाल भरतपुर महानगरपालिका–१० मा बसोवास गर्दै आएका गौतमले पहिलो पटक मतदान गरेको क्षण निकै स्मरणीय भएको बताए ।

उनले भने “एक दुई जना प्रहरी हुन्थे निकै हार्दिकताका साथ मानिसले मतदान गर्थे, अहिले निर्वाचन निकै भड्किलो भएको छ, यो राम्रो भएन । अहिले पैसा बाँड्ने र भोजभतेर गर्ने नराम्रो चलन बढ्यो ।” पहिलो र्निावचनको सम्झना गर्दै गौतमले भने “त्यतिखेर मतपत्र लिखित हुन्थ्यो, व्यालेट हुँदैनथ्यो ।” उनले पहिलो पटक कास्कीको खलाङ्गकोटमा मतदान गरेका थिए ।

भरतपुर महानगरपालिका–११ का ८१ वर्षीय लिलाधर धितालले २०१५ सालमा गोरखाको खरिबोटमा मतदान गरेका थिए । त्यतिबेलाको निर्वाचनमा डरत्रास हुँदैनथ्यो । उनले अहिले मारपीटको डर हुने गरेको बताए ।

धितालले गुनासो गरे “अहिले भोट हाल्न जाँदा पनि मार्छन् कि भन्ने डर हुने गर्छ, त्यतिबेला झण्डा केही हुँदैनथ्यो । शान्तसँग भोट हालिन्थ्यो ।” उनले विगत स्मरण गर्दै भने । निर्वाचन यसरी नै भड्किलो बन्दै गयो भने गाह्रो हुने उनको सुझाव छ ।

भरतपुर महानगरपालिका विशाल चोकका ८५ वर्षीय जगन्नाथ सुवेदीले २०१५ सालमा काठमाडौँमा मतदान गरेका थिए । तनहुँमा पुख्र्यौली थलो भएपनि कामको शिलसिलामा उनी काठमाडौँ बस्थे । त्यतिबेलाका नेता गणेशमान सिंह र पुष्पलाल श्रेष्ठ भएको उनलाई स्मरण छ ।

विसं २०१५ को निर्वाचन स्मरण गर्दै उनले भने, “त्यतिबेला उम्मेदवारले नै टिनको बक्सा बनाएर ल्याउँथे ।” उहाँले त्यतिबेला अहिलेको जस्तो खुवाउने पिलाउने र धम्क्याउने भन्ने हुन्न्थ्यो । वडा हाकिमले उम्मेदवार टुंग््याउने चलन रहेको उनले बताए । सुवेदीले भने, “त्यो बेला सिस्टम थियो, ईज्ज्त थियो, अहिले त्यस्तो छैन ।”

भरतपुर भोजाडमा बसोबास गर्दै आएका ८७ वर्षीय गिरिनाथ सापकोटालाई अहिले निर्वाचन देखेर दिक्क लागेको छ । विसं २०१५ मा २६ वर्षको उमेरमा पहिलो पटक गोरखाको खरिबोटमा मतदान गरेका सापकोटालाई अहिलेको तामझाम मन परेको छैन ।

उनले भने “अहिले धेरै तामझाम भयो, प्रचार बढी भयो, राम्रो भएन, भोट कसरी हाल्ने सिकाउँदैन, तामझाम गर्दै बाटोबाटो हिड्छन् मात्रै,” उनले भने ।

विसं २०१५ मा स्याङ्जामा निर्वाचन नै गराएका ८९ वर्षीय बलराम पौडेल पहिलो निर्वाचनको पोलिङ अफिसर थिए । उनले स्मरण गरे “मतदान गर्नेको औलाको कापामा मसि लाइन्थ्यो, फेरी मतदान गर्न आए छ घन्टासम्म थुन्ने अधिकार थियो ।” उनले थपे “मतदाता कतिखेर आउने, कसरी आउने भनी सोधेर आउँथे ।” अहिले भोजभतेर गर्ने गरेको देखेका पौडेलले त्यतिबेला उम्मेदवारले चिया पनि नखुवाउने गरेको सुनाए ।

उनले भने, “त्यतिबेला उम्मेदवारको खर्च नै हुँदैनथ्यो ।” उम्मेदवारलाई गाउँको टाठाबाठाले मात्रै चिन्ने गरेको बताउँदै उनले अरुले गाउँमा सल्लाह गरेर एउटै उम्मेदवारलाई मतदान गर्ने चलन थियो ।

अहिले विकृति भित्रिएको भन्दै पौडेलले भने, “अहिले खर्च धेरै हुन थाल्यो ।” उनले थपे “त्यतिबेला उम्मेदवारलाई भोट हुन्थ्यो, अहिले नोटमा भोट हुन्छ ।”

विसं २०१५ मा नौवटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । त्यस पछि राष्ट्रिय जनमत संग्रह २०३६, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३, प्रतिनिधिसभा निर्वाचन २०४८, प्रतिनिधिसभा निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६, संविधानसभाको पहिलो निर्वाचन २०६४ र संविधानसभाको दोस्रो निर्वाचन २०७० भएको थियो । नारायण अधिकारी/रासस