काठमाडौँ – ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राप्रपाले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको ६ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा लगाएतका बिषय समेटिएको छ ।

त्यस्तै किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारा समेत घोषणापत्रमा रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी स्थानी तहमा विजय हासिल गर्ने स्थानलाई प्राथमिकताका साथ राखिएको बताए ।

राप्रपाले जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशुल्क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ति, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता घोषणापत्र मार्फत गरेको छ ।

यस्तै राप्रपाले प्रत्येक वडामा प्रशूति सेवा र न्यून आए भएका हरेक सुत्केरीलाई तीन महिनासम्म मासिक ३ हजार रुपैयाँ भत्ता दिने समेत अध्यक्ष लिङ्देनले बताए । यस्तै प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप, क्यान्सर, मिगौला जस्ता रोगका बिरामीलाई मासिक भत्ताको व्यवस्था समेत राप्रपाले गर्ने जनाएको छ ।

यस्तै गाईभैसीमा कृत्रिम गर्भाधान निःशुल्क गर्ने र गाईंभैँसीका लागि सुत्केरी भत्ताको समेत व्यवस्था गर्ने लिङ्देनले बताए । यस्तै आवश्कताका आधारमा प्रत्येक वडामा खेलमैदान र व्यायामशालाको निर्माण गर्ने उनले राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।