काठमाडौं – नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) को बन्ने भन्ने रस्साकस्सीले यतिबेला माहोल तातेको छ । आईजीपीका प्रतिस्पर्धीका रुपमा रहेका एआईजीपीहरु धिरजप्रताप सिँह, रविन्द्रबहादुर धानुक, विश्वराज पोखरेल र सहकुल थापा मध्येबाट नै आगामी वैशाख १८ गतेदेखि एक जनाले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।


ADVERTISEMENT


हालका आईजीपी शैलेश थापा क्षेत्रीको वैशाख १८ गते देखि अनिवार्य अवकास हुने भएसँगै नयाँ आईजीपी बनाउने अन्तिम तयारी भईरहेको जानकारी प्राप्त भएको छ । नेपाल प्रहरीमा व्यवसायिक, अब्बल कार्यक्षमता, नेतृत्वमा क्षमतावान, ट्रयाक रेकर्डमा अब्बल, संगठनलाई बलियोगरी हाँक्न सक्ने योग्य प्रहरी अधिकारीलाई आईजीपी बनाउने गरी सरकारले निर्णय गर्न लागेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


विवाद नहुने गरी नेपाल प्रहरीको नेतृत्व सुम्पिने तयारी समेत भईरहेको जनाईएको छ । प्रतिस्पर्धीहरुमध्ये चारै जनाको ट्रयाक रेकर्डलाई गृहमन्त्री बालकृष्ण खाँडले मिहिन अध्ययन गरिरहेको समेत श्रोतले जानकारी दिएको छ ।

२०४९ चैत ११ गते प्रहरी निरीक्षक (ईन्सपेक्टर)का रुपमा सेवा प्रवेश गर्दै गर्दा १ नम्बरमा धिरजप्रताप सिँह, २ नम्बरमा दिपेश लोहनी, ३ नम्बरमा उत्तम सुबेदी, ४ नम्बरमा बसन्त लामा र ५ नम्बरमा विश्वराज पोखरेल रहेका थिए । ईन्सपेक्टरबाट डीएसपी र डीएसपीबाट एसपी हुँदा सम्म यही मेरिट कायम रहेको थियो ।

एसएसपी बन्दा भने मेरिट मिचियो अनि पोखरेल १ नम्बरमा र सिँह २ नम्बरमा पुगे । डीआईजी शुशिल भण्डारीको दुर्घटनामा मृत्युभएसँगै रिक्त रहेको पदमा पोखरेलले डीआईजीमा जम्प गरेका थिए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेबाट ईच्छाईएर पूर्वआईजीपी ठाकुर ज्ञावालीकै ब्याचका एसएसपी विरेन्द्र श्रेष्ठ बाँकी हुँदा हुँदै पनि पोखरेललाई डीआईजी बनाईएको थियो ।

एआईजी बन्दा समेत ईश्वर पोखरेलकै जोडबलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई समेत थाहा नै नदिई पोखरेललाई बढुवा सिफारिस गरिएको थियो । अहिलेका भूमिसुधार मन्त्री शशी श्रेष्ठ सभापति रहेको संसदको राज्यव्यवस्था समितिमा समेत बढुवालाई लिएर प्रश्न उठेको थियो । समितिले २०७७ मंसिर १४ गते एआईजीमा पोखरेलको बढुवा रोक्नु, कार्यान्वयन नगर्नु भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश समेत दिएको थियो । तर सोबेला एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा सबै कुरा लत्याउँदै पोखरेललाई नै एआईजीपी बनाईयो ।

प्रतिस्पर्धीहरु मध्येका अर्का एआईजीपी थापा भने एसपीको बढुवा हुँदा नै ब्याचमा छुटेका थिए । यद्यपी एमाले नेता महेश बस्नेत र पर्शुराम बस्नेतको सम्पर्कबाट पूर्वमन्त्री गोकुल बाँस्कोटाको सहयोगमा २०७८ असारमा थापा एआईजीपी बन्न सफल भए ।

सरकारले रिक्त रहेका एआईजीपी पदहरुमा २०७८ चैत १ गते वसन्त पन्त, धिरजप्रताप सिँह र रविन्द्रसिँह धानुकलाई बढुवा गरेसँगै आईजीपीको प्रतिस्पर्धा रोचक बन्न पुग्यो ।

प्रतिस्पर्धीहरुमध्ये धानुक अपरेशनमा अब्बल मानिन्छन् । काठमाडौं, ललितपुर र लुम्बिनी प्रदेशको कमाण्ड गरेका एआईजीपी धानुक अब्बल फिल्ड अफिसरका रुपमा परिचित छन् । प्रहरी निरीक्षक हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाको पीएसओ समेत भएका र सूदुरपश्चिम, बैतडी घर भएकाले समेत पनि धानुक नेतृत्वमा आउने प्रबल सम्भावना रहेको श्रोतको दाबी छ ।

आईजीपीको प्रतिस्पर्धामा रहेका सिँह समेत व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । ट्रयाक रेकर्डमा सुरुबाट नै अगाडी हुँदाहुँदै पनि एमाले सरकारका कारण बीचमा अन्यायमा परेका थिए । उनले मधेश प्रदेशको कमाण्ड देखि सीआईबीको नेतृत्व सम्हाल्ने क्रममा समेत उत्कृष्ट कार्यक्षमता र व्यवसायिकता प्रदर्शन गरेसँगै सिँहको नेतृत्व कुशलतामा सरकारले विश्वास गरेको समेत बुझिएको छ ।

श्रोतका अनुसार धानुक र सिँह मध्येबाट नै एकजनालाई आईजीपी बनाउने गरी सरकार अन्तिम निर्णयका लागि जुटेको छ । वर्तमान आईजीपीको बिदाई र नयाँ आईजीपीको स्वागत एकैसाथ गर्नेगरी अन्तिम गृहकार्य भईरहेको बुझिएको छ ।