बलेवा – स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलले १० वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन् ।


ADVERTISEMENT


उम्मेदवार टुङ्गो नलाग्दा नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी नदिएका हुन् । आज केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसान बने । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा एमालले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन नसक्दा मनोनयन रोकिएको हो । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालले उम्मेदवारी दर्ता गरेको छैन ।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी नेकपा एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले पनि सर्वसम्मत उम्मेदवार टुङ्गो लागेको स्थानीय तहमा एमालेले उम्मेदवारी दर्ता नगरेको हो । पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोका क्षेत्री, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए । वडा नं ६ मा राप्रपाका यामबहादुर क्षेत्री, वडा नं ९ मा मङ्गोलियन नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिएको उनले बताए ।

बागलुङ नगरपालिकाको उपप्रमुखमा तारादेवी रिजालले उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ढोरपाटन नगरपालिकामा रापपाका नीमबहादुर भण्डारीले मात्रै उम्मेदवारी दिएका छन् । काठेखोला गाउँपालिका–५ बिहुँको वडाध्यक्षमा होमनाथ कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्लाको तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृतले बताए । बडिगाड गाउँपालिका–५ को अध्यक्षका लागि राप्रपाका शङ्खर खरेल र वडा सदस्यमा सीता आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।