विराटनगर – नेपाली कांग्रेसले आफ्नो परम्परागत गढ मान्दै आएको विराटनगरको मेयर उम्मेदवारमा  नागेश कोइरालालाई पार्टीले टिकट दिएको छ ।


ADVERTISEMENT


कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


२०७४ मा कांग्रेस एक्लै लड्दा पनि जितेको महानगरमा यसपटक टिकटका लागि पार्टीभित्र तीव्र प्रतिष्पर्धा थियो । शेखर कोइरालानिकट रहेका विराटनगर महानगर सभापति दीपक चापागाईंले कोइरालाले टिकट पाएको  बताए ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षका नेताहरू टिकटको दौडमा थिए। त्यसक्रममा शेखर पक्षका नागेशले टिकट पाएका हुन्।

मेयरका उम्मेदवार बनेका कोइराला कांग्रेस विभाजनका बेला शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा सहभागी थिए। सो पार्टीको तरूण दलको जिल्ला सभापति बनेर राजनीतिक यात्रा थालेका कोइराला पार्टी एक भएपछि तरूण दलकै जिल्ला सभापति भए। त्यसपछि पार्टीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अहिले उपसभापति छन्।

यसअघि जनप्रतिनिधि नभएका कोइराला एकै पटक महानगर मेयरको टिकट पाउने ‘भाग्यमानी’ बनेका छन्। यद्यपि एमाले उम्मेदवार सागर थापालगायतको चुनौती चिर्न गठबन्धन कति सफल होलारु सम्भवतः यो प्रश्नले उनको भाग्य निर्धारण गर्नेछ।

तत्कालीन नेकपा विभाजित भएको, त्यसपछि एमाले पनि सग्लो नरहेको, जसपा विभाजनको फाइदा आफैंलाई पुगेको आंकलन गरिरहेको कांग्रेसलाई गठबन्धनले झनै फाइदा पुगेको नेताहरू बताउँछन्।

त्यसबाहेक राप्रपाको सुनिल थापा समूह र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भएको कारण पनि कांग्रेस बलियो रहेको दाबी उनीहरूको छ। पार्टी बलियो रहेको दाबीकै कारण विराटनगरमा तालमेल गर्न नहुने मत कांग्रेसभित्र बलियो थियो।

कांग्रेसमा हालका मेयर भीम पराजुली, उपमेयर ईन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र जिल्ला उपसभापति नागेश कोइराला लगायतका नेता मेयर बन्ने दौडमा सामेल थिए।

यीमध्ये पराजुली सिटौला समूहका, अर्याल र संग्रौला संस्थापन पक्षका र नागेश कोइराला र उपमेयर कार्की कोइराला पक्षका नेता हुन्। संस्थापन पक्ष र कोइराला, दुवै पक्षले महानगर प्रमुखको टिकटलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए। त्यसक्रममा कोइराला पक्षले टिकट हात पारेको हो।

२०७४ को निर्वाचनमा विराटनगरको गणितले नै कांग्रेसलाई बलियो साबित गरेको थियो। त्रिपक्षीय प्रतिस्पर्धा भएको त्यो चुनावमा कांग्रेस एक्लै मैदानमा थियो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा थिए। एमालेले मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० लाई उपमेयर दिएर तालमेल गरेको थियो भने माओवादीले संघीय समाजवादी फोरमसँग तालमेल गरेको थियो। तर, ती दुबै गठबन्धनविरूद्ध कांग्रेस एक्लै भारी सावित भयो।

प्रमुखमा भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजेता बन्दा निकटतम प्रतिष्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए। माओवादीसँग गठबन्धन गरेको संघीय समाजवादी फोरम नेपालका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए।