काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उनले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘नेपाली काँग्रेसले अहिले घोषणापत्र भन्ने शीर्षक छ, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनिएको थिएन । एमालेलाई तथानाम गालीमात्रै । धारेहात लगाएर सरापेको सराप्यै ।’


ADVERTISEMENT

# # #


कांग्रेसको घोषणापत्रमा संविधानको केही विषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको उनले आरोप लगाए । ‘एक पटक सोध्न मन छ, नेपाली काँग्रेसलाई सञ्चो छ कि छैन ? अलिकति राजनीतिक, कानुनी, संवैधानिक कुरा गरौँ ।’ उनले भने, ‘घोषणा पत्रको अर्को पाटो पनि छ, संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । अर्को पक्ष पनि छ, त्यहाँभित्र, एमालेको घोषणा पत्र यसो गरेर छेउको चार विद्यार्थीले छेउको विद्यार्थीको हेरेझैँ उता हेरेर यता लेखेको छ ।’

उनले थपे, ‘त्यति कुशल विद्यार्थीको चिट चोराई छैन । चिट चोर्ने पनि कुशलता चाहिन्छ, त्यो पनि छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोरेजस्तो ।’

उनले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गरे । उनले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गरे । त्यस्तै ओलीले माओवादीले घोषणपत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको बताए ।

उनले टिकट वितरणमा देखिएका विषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे । एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गरे। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिए ।