काठमाडौँ – निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा चासो व्यक्त गरेको छ ।


ADVERTISEMENT


प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । कूल २२० केभी क्षमताको मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका चार सवस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सवस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, खुदी सवस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सवस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सवस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएको छ । नयाँ भरतपुर र उदीपुर सवस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । दुवै सवस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणको जडान भइरहेको छ ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । खुदी सवस्टेसनको मुख्य सिभिल संरचना निर्माणाधीन छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन गरी सवस्टेसन निर्माणमा भइरहेको प्रगति, आयोजनास्थलमा देखिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सवस्टेशन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।

उहाँले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्यालाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए। यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उनले उल्लेख गरे ।

लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सवस्टेसनमा जोडिने छ । उदीपुर सवस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोडिने छ ।

लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ । मर्स्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ । रासस