काठमाडौँ– नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो ।


ADVERTISEMENT


नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा आज लेखेका छन्, ‘नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन भोगेको छ । हामी साझेदारका रूपमा हाम्रा उपलब्धिमा गर्व गर्छौं र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।’


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयले विदेशमन्त्री ब्लिङकेनको अभिव्यक्तिको प्रत्युत्तर दिँदै सामाजिक सञ्जालमा लेखेको छ, ‘नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा, नेपाल हाम्रा दुई देशबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछ ।’

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डीबेरीले सामाजिक सञ्जालमा आजै ‘नेपाली र अमेरिकीहरूलाई बधाई छ । सन् १९४७ मा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध यही हप्ता सुरु भएको थियो । हाम्रो मित्रता आपसी सम्मान, लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित छ’, लेखेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र अमेरिकाबीच २५ एप्रिल १७४७ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । यसैबीच परराष्ट्रमन्त्री डा नारायण खड्कासँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस