भक्तपुर – स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी हुँदा बुधबार जिल्लाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्र अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा खटिएका पदाधिकारीले जिल्लाका विभिन्न ठाउँका मतदान केन्द्र, मतदानस्थल र मतगणनास्थल अनुगमन गरेका हुन् ।


ADVERTISEMENT


मतदानस्थलको तयारी कस्तो भइरहेको छ, मतदानपछि कसरी मतपेटिका लैजाने, मतगणनास्थलको तयारी कस्तो छ, थप गर्नुपर्ने अवस्था भए नभएको बारेमा जानकारी लिइएकोे प्रजिअ शर्माले जानकारी दिए । बुधबार नै मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि यहाँका विभिन्न मतदान केन्द्र अनुगमन गरेको छ । मौन अवधिमा आचारसंहिता पालना भए÷नभएको र मतदानस्थलको अवस्था कस्तो छ भन्ने जानकारी लिँदै आवश्यक तयारी गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कँडेल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको गठ्ठाघरस्थित भैरववाण गुल्मका सेनानी परशुराम थापा, थिमिस्थित प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, दुवाकोटस्थित सशस्त्र प्रहरी गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायत अनुगमनमा सहभागी थिए ।

अनुगमनका क्रममा मतदानस्थललगायत क्षेत्रमा आचारसंहिताविपरीत विभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिह्नलगायत प्रचार सामग्री तत्काल हटाउन लगाइएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिए ।मौसमको प्रतिकूल अवस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिइएको उनले बताए । हिजै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरणको समेत अनुगमन गरिएको र मतदानको सबै तयारी पूरा भएको समेत उहाँले जानकारी दिए ।

उपत्यका नगरपालिका फोरमको कार्यालय तोडफोड

उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ । बुधबार मध्यपुरथिमि नगरपालिका–३स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए । कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र छरिएको अवस्थामा भेटिएको उहाँको गुनासो थियो ।

थिमिस्थित महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुनसक्ने बताए । उनले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि फुटाएको जानकारी दिए । सहकारीबाट रु एक हजार ८०० चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अवस्थामा भेटिएकाले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुनसक्ने उनको जिकिर थियो ।

प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुवै कार्यालयको घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण लिएको, घटनाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनमा खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुनसक्ने भएकाले सबैमा सचेत रहनसमेत आह्वान गरे । रासस