काठमाडौं – स्थानीय निकायको निर्वाचनमा मतदान गर्न घर फर्कनेको घुइँचो लाग्दा उपत्यका सुनसान भएको छ । तीन दिनयता झन्डै दैनिक एक लाख जनताले काठमाडौं छाडेका छन् । बिहान र बेलुकीको समयमा कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत क्षेत्रमा यातायात व्यवस्थापन अस्तव्यस्त छ ।


ADVERTISEMENT


राजधानी छाड्नेको संख्या एक हप्तामा ५ लाखभन्दा बढी रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यका ट्राफिक महाशाखाका अनुसार विगतका दिनभन्दा पछिल्लो समय राजधानी छाड्नेको संख्या बढेको छ ।महाशाखाका प्रवक्ता एसपी सञ्जीव दास शर्माका अनुसार राजधानी भित्र्नेभन्दा बाहिरिनेको संख्या ह्वात्तै बढेको छ ।


ADVERTISEMENT

# # #


यसअघि राजधानी भित्र्ने र बाहिरिनेको संख्या बराबरी जस्तै हुने भए पनि अहिले भने राजधानी छोड्नेको संख्या ह्वात्तै बढेको एसपी शर्माले जानकारी दिए । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायतका क्षेत्रमा सवारीसाधन पर्खनेको भीड लागेको छ । विभिन्न राजनीतिक दलले सवारीसाधन रिजर्भ गरेर मतदातालाई गन्तव्यतर्फ लगिरहेका छन् भने कतिपय व्यक्तिहरूले निजी सवारीसाधनमा उपत्यका छाडेका छन् ।

मंगलबार ६० हजारले राजधानी छाडेका थिए भने बुधबार ८९ हजारभन्दा बढी व्यक्तिले राजधानी छाडेका छन् । लामो दूरीका सवारीसाधनहरू बुधबार रातिसम्ममा चल्ने भएकाले बस चढ्नेहरूको भीड लागेको देखिन्छ ।दैनिक ५ देखि ७ हजार सवारीसाधन उपत्यका बाहिर जाने गरेकोमा पछिल्लो एक हप्तामा १० देखि ११ हजार साना ठूला सवारीसाधन राजधानीबाट बाहिरिएका छन् ।

दैनिक ५० हजारको हाराहारीमा राजधानी भित्र्ने यात्रुको संख्या घटेर ३० देखि ३५ हजार यात्रु मात्रै राजधानी भित्र्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।यो क्रम आज बिहीबारसम्म पनि जारी रहने एसपी दास बताउनुहुन्छ । अत्याधिक सवारीसाधनका कारण नागढुंगा– नौबिसे खण्डमा जाम पर्ने भएकाले महाशाखा र धादिङ ट्राफिक प्रहरीको समन्वयमा काम भइरहेको पनि उहाँले जानकारी दिए । राजधानी भित्रने भन्दा पनि राजधानी छोड्नेको संख्या बढेको र कतिपय मानिसहरू घर नै खाली गरेर गन्तव्यतर्फ लागेकाले चोरीको डर हुने भएकाले घर छोड्नुअघि नजिकको प्रहरी चौकीलाई खबर गर्नसमेत प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले शान्ति सुरक्षामा कुनै कमी आउन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको जानकारी दिँदै घर छोड्नुअघि नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको जानकारी दिए ।अधिकांशले राजधानी छाडेपछि उपत्यकाको सवारी आवागमन सुनसान छ । भारतीय नाकाबाट कुनै पनि सवारी छिर्न सकेको छैन । निजामती कर्मचारीलाई निर्वाचन केन्द्रमा परिचालन गरेका कारण ती कर्मचारीले निर्वाचन गराउन गन्तव्यमा पुगिसकेका छन् ।

मन्त्रालयमा कार्यरत अधिकांश निजामती कर्मचारीलाई मतदान केन्द्रमा खटाएका कारण मन्त्रालय र अधिकांश कार्यालय सुनसान छन् । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य काम बन्द गरेको छ । विद्यालय बन्द भइसकेका छन् । लगातार ४ दिनसम्म बिदा भएकाले पनि राजधानी छाड्नेको संख्या बढेको हो । ३० गते शुक्रबार निर्वाचन हुने दिन, ३१ र १ गते सरकारी बिदा र २ गते बुद्धजयन्ती पर्न गएका कारण चार दिन बिदा भएको हो । यही कारणले पनि कर्मचारी बाहिरिने काम बढेको हो ।

उता निर्वाचनको दिन उपत्यकाका सबै संग्रहालय बन्द हुने भएका छन् । हनुमानढोका, पाटन र भक्तपुर संग्रहालय, छाउनीस्थित कला संग्रहालय र नारायणहिटी संग्रहालय पनि बन्द गर्ने निर्णय भएको हो ।नारायणहिटी संग्रहालय प्रमुखको जिम्मेवारी सम्हालेका संस्कृति मन्त्रालयका सहसचिव सुरजसुरस श्रेष्ठले निर्वाचनको दिन सबै संग्रहालय बन्द हुने बताए । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सरकारले बिदा दिने निर्णय गरेकाले सो दिन देशैभरका संग्रहालय बन्द हुने बताए ।