धनगढी पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट कांग्रेस नेत्री आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिएकी छन् ।


ADVERTISEMENT


सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नं ७ मै निकै उत्सुकतासाथ हेरिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थिए ।  त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारले मारेको विजयले राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ ।

विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नंं ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसकेकी राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेकी छन् ।

उनले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।  धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत भएकी राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्छिन् ।

शुक्रबार बिहान उनकै निजी निवासमा राससकर्मीसँग कुरा गर्दै उनले विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गरिन् ।
“ऋणमा घर खरिद गर्दा पनि विपक्षीले ठूलै मुद्दा बनाए” उनले भनिन्, “विपक्षीसँग कांग्रेस विरोध गर्नसक्नै कुनै पनि एजेण्डा नै भएन, त्यसैले घरको मुद्दा उठाए ।” आफ्नो उम्मदेवारीले महिला मतदाता बढी उत्साही रहेको उनको भनाइ थियो ।

निराश छैनन् नारदमुनि

हेभीवेट उम्मेदवारका रुपमा हेरिएकी राणालाई वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले कडा चुनौती दिइरहेका छन् ।
विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी र २०६४ सालमा समानुपातिक सांसद् रहेका रानालाई वाम गठबन्धनको दरिलो साथ रहेको छ ।

साथै, उनलाई जातिगत हिसाबले थारु समुदायको पनि साथ रहने वाम गठबन्धका नेताहरूको भनाइ छ । यद्यपि सो समुदायमा आफूहरूको पनि संगठन बलियो रहेको कांग्रेस नेताहरूको दाबी छ ।

धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सघन सहरी विकास कार्यक्रमको कार्यन्वयन, धनगढीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रको विकास, नदी नियन्त्रणलगायतका कार्यक्रमसहित राना चुनावी मैदानमा छन् ।

धनगढीलाई थारु समुदायको भाषा, साहित्य र संस्कृतिको अध्ययनको गन्तव्य बनाउने आश्वासनसहित उनी जातीय मत तान्ने राणनीतिमा समेत छन् । रासससँग कुरा गर्दै वाम गठबन्धनका उम्मेदवार रानाले भने, म यहीँ जन्मे हुर्केको र सबैसँग घुलमिल रहेकाले चुनावी नतिजा मेरै पक्षमा आउनेछ ।

यहाँ सांगठनिकरुपले एमालेको अवस्था बलियो रहेको र विभाजनका कारण माओवादी केन्द्रको अवस्था केही कमजोर भए पनि दुवैको मत जोड्दा गठबन्धन नै अगाडि रहेकाले पनि जित सुनिश्चित रहेको दाबी उनको छ ।

दुई बलिया गठबन्धनको चुनावी भिडन्त जबर्जस्त हुने आंकलन गरिएका बेला यसै क्षेत्रमा विवकेशील साझा पार्टीले अघि सारेका उम्मेदवार ओझिलो उम्मेदवार छन् । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै विवेकशील साझा पार्टीबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दिनेश भण्डारीलाई यहाँका प्रतिष्ठित व्यापारी गोपाल हमालको दरिलो साथ छ ।

गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले पाएको सम्मानजनक मत विवकेशील साझा पार्टीले आफ्नौ पक्षमा आउने दाबी गरेको छ । उक्त निर्वाचनमा दोस्रो स्थानमा मत ल्याउन सफल भएका हमाल हालै विवेकशील साझा पार्टीका ७ नंं प्रदेशको नेतृत्व सम्हालेका छन् ।
कूल ९१ हजार ८१८ मतदाता रहेको कैलाली–५ मा प्रतिनिधिसभामा आठजना उम्मेदवार छन् ।

यसै निर्वाचन क्षेत्रका विभिन्न पार्टीबाट दुई पदका लागि १६ जना उम्मेदवार चुनावी मैदान रहे पनि मुख्य प्रतिष्पर्धा भने वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ ।

पूर्वमन्त्री र कांग्रेसका पुराना नेताबीच कडा प्रतिष्पर्धा

पाँचवटा निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्य र १० वटा प्रदेशसभा सदस्य रहेको कैलालीमा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेस नेता सुनीलकुमार भण्डारीबीचको चुनावी भिडन्त कैलालीको अर्को चर्चाको विषय बनेको छ ।

निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलाली निर्वाचन क्षेत्र ४ मा दुई ठूला नेता भट्ट र भण्डारीबीच साख फर्काउने र विरासत जोगाउने कसरतमा उममेदवारहरु घरदैलोमा मत माग्न व्यस्त छन् ।
उक्त निर्वाचन क्षेत्रमा राजनीतिक नेता कार्यकर्ताबाहेक अधिकांश मतदाता राजनीतिक सिद्धान्तका आधारमा नभई आफन्त र इष्टमित्रसहित जातीय र भेगीएरुपमा बाँडिने गरेका छन् ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेशका इन्चार्जसमेत रहेका नेता भट्ट २०६४ सालपछि दुईपटक मन्त्री भइसकेका छन् ।

वाम गठबन्धनका उम्मेदवार भट्ट यसअघि २०६४ सालको पहिलो संविधानभामा कैलाली ५ बाट विजयी भएका थिए भने २०७० सालमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित भएको राजनीतिक इतिहास छ ।

यस्तै निर्वाचन क्षेत्र नं ४ मा शिक्षा क्षेत्रमा ख्याती प्राप्त गीता क्षेत्री राणा पनि उम्मेदवार छिन् । उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारलाई तीव्रता दिएकी छन् । मुख्य दुई गठबन्धनबीच कडा टक्कर हुने आंकलन गरिएपनि राणाले पाउने मतले चुनावी नतिजा प्रभावित हुनसक्ने स्थानीय मतदाता वासुदेव चौधरी बताउँछन् ।

पार्टी परिवर्तनले पनि धब्बा नलागेको राजनीतिक यात्रा

कैलालीकै दुई पूर्वमन्त्री एवं राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने मोहनसिंह राठौर र रामजनम चौधरीलाई यसको निर्वाचनमा पार्टी परिर्वतनले पनि कुनै असर गरेको देखिएन ।

पार्टीको आन्तरिक विवादपछि असन्तुष्टि व्यक्त गर्दै नेकपा एमालेबाट बिदा भएर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री राठौर आसन्न निर्वाचनमा कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका छन् ।
कैलाली–२ लम्की क्षेत्रमा राम्रो पकड मानिएका नेता राठौरले पार्टी परिर्वतन गरेर चुनावी मैदान रोज्दा पनि आफ्ना मतदातालाई उहाँले विचलित हुन दिएका छैनन् । कांग्रेसले नवप्रवेशी राठौरको उक्त क्षेत्रमा देखिएको पकडकै कारण उनलाई तत्काल टिकट दिएर चुनावी मैदानमा उतारेको हो । कैलाली कांग्रेसले निर्वाचन क्षेत्र नं २ मा राठौर विजयी हुने दाबी गरेको छ ।

राठौरसँग कुनै समय उनकै स्वकीय सचिव रहेक नेकपा एमालेका नेता झपट रावल बाम गठबन्धनको साथ लिएर चुनावी मैदानमा छन् । उनले भने, “यस क्षेत्रमा पार्टीको संगठन राम्रो छ, एक दुईजनाले पार्टी छाड्दैमा पार्टीको विजय यात्रा रोकिन्न ।”

त्यसैगरी पार्टी एकीकरणपछि कैलाली–३ बाट नेपाली कांग्रेसको उम्मेदवार भएर चुनावी मैदानमा रहेका रामजनम चौधरीलाई पनि पार्टी परिर्वतनले कुनै असर गरेको देखिँदैन ।

विसं २०७० को निर्वाचनमा चौधरी सोही निर्वाचन क्षेत्रबाट फोरम लोकतान्त्रिक बाट विजयी भएका थिए । थारु समुदायको बाहुल्यता भएको उक्त क्षेत्रमा रामजनम २०४८ सालदेखि निर्वाचन जित्दै आएका छन् । २०६४ सालमा भने उनी समानुपातिक सांसद थिए । उनलाई आसन्न निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गौरीशंकर चौधरीले कडा टक्कर दिइरहेका छन् ।
उक्त क्षेत्रमा फरक गठबन्धनका बलिया दुई उम्मेदवारलाई संघीय समाजवादी फोरमका उम्मेदवार भानुराम थारुले चुनौती थप्ने मतदाताहरूबीच चर्चा छ ।

दुई महिलाको यस्तो टक्कर

त्यसैगरी कैलाली क्षेत्र नं १ प्रतिनिधिसभामा दुई महिला उम्मेदवारका कारण चर्चामा छ ।

कैलालीको दक्षिणी पूर्वी सीमामा रहेको क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र बाम गठबन्धनबाट नेकपा एमाले का नेत्री मदनकुमारी शाहबीच रोचक चुनावी भिडन्त हुँदैछ ।

यसअघि २०७० सालको निर्वाचनमा उक्त क्षेत्रमा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार जनक चौधरी विजयी भएका थिए । चौधरी भने अहिले सोही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा उम्मेदवार छन् ।
नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच भएको एकीकरणले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार न्यौपाने विजयी हुने दाबी गरिरहँदा वाम गठबन्धनका प्रत्याशी गरिमा शाह आफ्नो जित सुनिश्चित रहेको बताइरहेका छन् ।
चौधरी थारु बाहुल्य क्षेत्र रहेको क्षेत्र नं १ मा टीकापुर घटनाका आरोप लागेर फरार रहकेका रेशम चौधरी राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनको उम्मेदवारीका कारण सो क्षेत्रको चुनावी गणित फेरबदल हुनसक्ने एकथरी मतदताको आंकलन छ । उक्त क्षेत्रमा थारु मत निर्णायक हुनेछ ।

चार लाख ६० हजार ५८७ मतदाता रहेको कैलालीमा यसअघिको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तीन, नेकपा एमालेले सात, माओवादी केन्द्रले दुई र फोरम लोकतान्त्रिकले एक स्थानमा विजयी हासिल गरेको थियो ।

स्थानीय तहको मतपरिणामलाई हेर्दा कैलालीमा लोकतान्त्रिक र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्प्रर्धा हुने देखिए पनि भेगीय, जातीय र क्षेत्रीय प्रभावले मत परिणाम प्रभावित हुन सक्ने आँकलन छ ।

प्रदेश नं ७ मा सबैभन्दा बढी निर्वाचन क्षेत्र तथा तराइका ठूला जिल्लामध्येको कैलाली यस क्षेत्रमा व्यापारिक हबका रुपमा परिचित छ । यस क्षेत्रमा सुदूर पहाडी जिल्लामा बसाइँ सरेर आएका र राना थारु, डगौंरा थारुको बाहुल्यता छ ।

धेरै नदी नाला, ताल तलैयासमेत बढी संख्यामा रहेको कैलालीका वासिन्दा नदी कटान, डुबान, सडक पूर्वाधार, खानेपानीलगायतको समस्याबाट मुक्त हुन सकेको छैन ।

हरेक निर्वाचनमा उम्मेदवारका यिनै विकासे मुद्दा मुख्य हुने गरेको भएपनि विकासको गति भने सुस्त रहेको स्थानीय लेखकराज ओझाको दुखेसो छ । ‘निर्वाचनका बेला आश्वासनको कमी नै हुँदैन ।’ उनले भने, ‘निर्वाचन सकिएपछि नेताहरू एजेण्डा नै बिर्सेजस्तो व्यवहार देखाउँछन् ।” सिद्धराज भट्ट, कुमार चौलागार्इं, शेरबहादुर सिंह /रासस