शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको छ जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङले जनाएको छ ।


ADVERTISEMENT


आठराई त्रिवेणी गाउँपालिकामा पनि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा भने सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


६४ प्रतिशत मत खस्यो

ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ८९ हजार ६८० मतदाता रहेको जिल्लामा ६४ प्रतिशत मत खसेको हो । एक नगरपालिकासहित नौ स्थानीय तहमा १२२ मतदान केन्द्रबाट मतदान भएको थियो । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१.९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामा ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सिदिंवा गाउँपालिकामा ६२ प्रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५.३५ प्रतिशत, सिरिजङ्घा गाउँपालिकामा ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिए। यस्तै जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो ।

याङमामा १४ मत मात्र खस्यो

सदरमुकामदेखि सबैभन्दा टाढा रहेको बस्ती याङमामा १४ मतखसेको छ । दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताए । साठी मतदाता रहेको याङ्मामा मत सङ्कलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जना खटिएका थिए । उनीहरुका लागि रु दुई लाख बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । सदरमुकाम फुङ्लिङबाट गाडीमा यात्रा गरेर र पैदल हिँडेर तीन दिनमा मात्रै यो बस्तीसम्म पुग्ने गरिन्छ ।

मौसम प्रतिकूल भएसँगै मतपेटिका लिन हेलिकोप्टर आएन

दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर आउन सकेन । हेलिकोप्टर नआएसँगै याङ्माबाट मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालय तापेथेकसम्म बोकेर नै ल्याउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २७६ जना मतदाता रहेको ओलाङचुङ्गोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरे । यस्तै १६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याब्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।