काठमाडौँ – संघीय संसद्को एघारौं अधिवेशन आजदेखि सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ संघीय संसदका दुवै सदनको वर्षे (बजेट) अधिवेशन बोलाएकी थिइन् ।
वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नेछन् । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नेछन् ।
त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठक प्रत्यक्ष हेर्नुहोस्: