चितवन– सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ ।


ADVERTISEMENT


बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए। सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।


ADVERTISEMENT

# # #


सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताए । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् । विमानस्थलका प्रमुख उपाध्यायका अनुसार गत माघ १९–फागुन १७ गतेसम्म सात हजार सात सय ८२ जना हवाई मार्ग प्रयोग गरी काठमाडौँ गएका छन् ।

अघिल्लो वर्ष सोही समयमा तीन हजार सात सय ३४ जनाले मात्र हवाई मार्ग प्रयोग गरेका थिए । सिम्रिकले यात्रुको चाप निकै बढेपछि आफ्नो उडान भरतपुरमा सुरु गरेको हो ।