काठमाडौँ – कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । बोहराले आठ हजार ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


निर्वाचित बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा नेकपा (एमाले)का अशोककुमार चन्दसित पराजित भएका थिए । कांग्रेसका पूर्व जिल्ला सचिवसमेत रहेका बोहरा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी सो नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै तुलसी जोशी निर्वाचित भएकी छन् । उनले सात हजार २५४ मत प्राप्त गरिन् । नेकपा (एमाले)की पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरेका छन् ।

दश वटामध्ये वेदकोटमा कांग्रेसले पाँच वडाध्यक्षसमेत जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख/उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो ।

महेन्द्रनगर बजारमा भट्ट निर्वाचित

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर रहेको वडामा नेपाली कांग्रेसका उम्मेदवार सुशील भट्ट वडाध्यक्षमा निर्वाचित भएकी छन् । वडा नं ४ बजार क्षेत्रमा प्यानलसहित निर्वाचित भएका भट्टले ७८३ मत प्राप्त गरिन् ।

वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका करनसिंह पालले २५३, एमालेका तेजबहादुर मल्लले १७१ र स्वतन्त्र उम्मेदवार कैलाश चन्दले १३७ मत प्राप्त गरेका छन् । नौ पालिका रहेको कञ्चनपुरमा भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र पुर्नबास नगरपालिकामा मतगणना जारी छ ।