काठमाडौँ – नेकपा (एमाले)का सांसद भीम रावलले नेपालको समग्र दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट पार्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै नेता रावलले कोशी, गण्डकी, कर्णाली र महाकाली नदी विदेशीको हातमा जाने गरी विगतमा भएका सन्धिसम्झौतामा भएका गल्ती दोहोरिन नदिइ दीर्घकालीन हित सुरक्षा र आवश्यकता अनुरुप समग्र नदी जलस्रोतको सदुपयोग गरिने नीति स्पष्ट गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


रणनीतिक महत्वका नदीनाला विदेशीको हातमा सुम्पिने नीतिमा परिवर्तन गर्ने कुरा प्रस्तुत नीति तथा कार्यक्रममा कहि कतै पनि नभेटिएको उनको भनाई छ । रावलले अर्थतन्त्रलाई सुरक्षित गर्ने कुनै योजना सरकारले ल्याउन नसकेको तर्क गरे । उनले जनशक्तिको स्वदेशमै परिचालन गर्न सरकारले उचित कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । कृषि उत्पादन र कृषि उत्पादकत्व बढाउने नीति प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले अर्थतन्त्रको समस्या अहिलेको सरकारका कारण नभई पहिलेदेखिकै समस्या भएको बताए । उनले संरचनागत रुपमा अर्थतन्त्रका बिषयमा छलफल हुनुपर्ने बताए । रिजालले आफ्नो समस्यालाई अर्काको टाउकोमा हालेर समस्या समाधान नहुने तर्क गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सामुदायिक हित, नीजि क्षेत्र र राज्यको भूमिकाका विषयमा सही ढंगले परिभाषित गर्नुपर्ने अवस्था आएको बताए । उनले नया आर्थिक विकासका लागि प्राथमिकताका स्थानलाई महत्व दिएर कार्यक्रम तय गर्नुपर्ने धारणा राखे ।

उनले कृषिबाट युवाशक्ति बेरोजगारी र वैदेशिक रोगजारीमा आकर्षित भएको भन्दै कृषि क्षेत्रको रुपान्तरण आजको आवश्यकता रहेको बताए ।

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पास गर्न राष्ट्रहित विपरित भएकाले त्यसलाई खारेज गरिनुपर्ने बताए ।