तनहुँ – तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।


ADVERTISEMENT


मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


रोचक बनेको व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि थिए । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगे र वडा नम्बर १० को गणना गर्न थालेपछि वैकुण्ठले दीपकराजलाई उछिनेका हुन् ।

यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १३ हजार ४ सय ६४ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार ५९२ मत पाएका थिए ।

२०७४ चुनाव भन्दा यसपालिको चुनावमा न्यौपानेलाई जित्न सकस पर्यो । किनकी यस पालिकामा उनका प्रतिस्पर्धी रहेका जोशी कांगे्रसबाट असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा थिए । उनले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडेका थिए ।